सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

गुगलपाटी संवाददाता भोजपुर
२३ बैशाख २०७६ ११:३१

 भोजपुरबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

रामप्रसाद राई गाउँपालिका(३ भुल्के घर भइ हाल भोजपुर नगरपालिका भोटेपसल बस्ने ३० वर्षीया कल्पना राईको शिशु जन्मिपछि घण्टौसम्म रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत कल्पनाको ‘एयर लिफ्ट’बाट उद्दार गरिएको हो ।

कल्पनालाई नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको श्रीमान किशोर राईले बताए । ‘निकै आत्तिएको थिएँ । अब चाहीँ ठाउँमा पुग्ने भएँ । मेरी श्रीमती बाँच्ने भइन् सरकार मेरो लागि भगवान नै भएको छ,’ उनले भने ।

राईको सोमबार विहान साढे ३ बजे घरमै डेलिभरी भएको थियो । सालनाल झरेपछि अचेत अवस्थामा रहेको र उल्टी हुन थालेपछि उनलाई अस्पताल लगिएको थियो ।

उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठका अनुसार गर्भाअवस्थामा उनले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो । ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नु भएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार गर्‍यौं तर रक्तश्राव रोकिएन झन जोखिम बढेर गयो,’ डा श्रेष्ठले भनिन् । शिशुको स्वास्थ्य अवस्था भने राम्रो छ ।

कल्पनाको यो शिशुको जन्मसहित ४ सन्तान भए । यसअघि तेस्रो सन्तानको पनि जन्मिने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।