कम्युनिस्ट सरकार अहिलेसम्मकै सबैभन्दा भ्रष्टः महत

गुगलपाटी संवाददाता
२३ बैशाख २०७६ १४:२३

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार अहिलेसम्मकै सबैभन्दा भ्रष्ट रहेको पुष्टि भएको बताएका छ ।
काँग्रेस १ नम्बर क्षेत्रीय सम्मेलनलाई सोमबार बाग्मती गाउँपालिकाको बेतिनिमा सम्बोधन गर्दै प्रमुख अतिथि डा।महतले अहिलेको दुई तिहाईको कम्युनिस्ट सरकार हजार, लाख र करोड हैन अरबौंको भ्रष्टाचारमा लिप्त भएको बताए ।
कांग्रेस सहमहामन्त्री डा महतले कम्युनिष्टहरू तिल जत्रो काम गरेपनि पहाड जत्रो बनाउने गरेको र कांग्रेस पहाड जत्रोको काम गर्दापनि तिल जत्तिपनि प्रचार नगरेका कारण कांग्रेस पछि परेको बताउँदै कांग्रेसले गरेका कामको प्रचार गर्न नहिच्किचाउन कार्यकर्ताहरुलाई आग्रह गरे । त्यसैगरी विशिष्ट अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकारको गलत क्रियाकलाप विरुद्ध कांग्रेस अब देशभर एकभएर लाग्ने बताईन ।
बिशिस्ट अतिथि कांग्रेस नेतृ डिनाले कम्युनिष्ट सरकार दुईतिहाईको दम्भमा एकपछि अर्को गर्दै गलत निर्णय, भ्रष्टाचार, महंगीबाट जनतालाई आक्रान्त पार्न तल्लिन रहेकोले कम्युनिष्ट सरकारको अब दिनगन्ती सुरु भैसकेको बताईन ।
त्यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुईतिहाईको कम्युनिष्ट सरकारले सरकार गठन भएको लामो समय वितिसक्दा पनि जनतालाई राहात हुने कुनै काम गर्न नसकेकोले यही बैशाख २५ गतेबाट देशब्यापीरुपमा जागरण अभियानमार्फत कम्युनिष्ट सरकारले अहिलेसम्म के के गरे प्रश्न सोध्दै गाउँरगाउँ जाने बताए ।
नेता बानियाँले अहिले सरकार भ्रष्टचार, महंगी बढाउँदै सरकारी जग्गा कम्युनिष्ट नेताहरुको परिवारको नाममा गराई आफू अरबपति हुने र जनतालाई झन् झन् गरिव बनाउँदै देशलाई खोक्रो बनाउन लागिपरेको बताउँदै अबका दिनमा कांग्रेस खबरदारी गर्दै कम्युनिष्टको चरित्रको उजागार गर्न लाग्ने बताए । कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा कांग्रेस १ नम्बर क्षेत्रीय सम्मेलन भएको हो ।
कार्यक्रममा जिल्लाका पदाधकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।