नव गठित समाजवादी पार्टीको बैठक आज बस्दै, कस्ता छन् त एजेन्डा ?
गुगलपाटी संवाददाता काठमाडौंनव गठित समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच सोमवार एकीकरण भइ समाजवादी पार्टी, नेपालको घोषणा भएको थियो ।
४२९ सदस्यीय कार्यसमितिको बैठकमा केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँड देखि लिएर परिचयात्मक कार्यक्रम हुने बताइएको छ । पार्टीमा २५ सदस्यीय पदाधिकारी रहेका छन् ।
समाजवादी पार्टीको अधिवेशन असोजका लागि तोकिएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ ।
कार्यसमितिको जिम्मेवारी बाँडफाँडको म्यान्डेट पदाधिकारीलाई दिइनेछ । र, ती पदाधिकारीले विभिन्न समितिहरु बनाएर तल तहदेखि माथिल्लो तहसम्म फोरम नेपाल र नयाँ शक्ति नेपालबीच समायोजनको कार्यक्रम गर्ने बताइएको छ ।
स्रोतका अनुसार फोरम नेपाल जुन–जुन प्रदेशमा अध्यक्ष तोकि सकेको छ त्यहाँ फोरम नेपालकै रहने र अरु पदमा नयाँ शक्तिसँग समायोजन गर्ने बताइएको छ । सात र छ नम्बर प्रदेश नयाँ शक्ति नेपाललाई दिने छलफल भइरहेको बताइएको छ ।