थाहानगरका हिराबहादुर जसले २५ वटा गाडी बोकेरै काठमाडौं भित्र्याए
गुगलपाटी संवाददाता हेटौंडाइतिहास पढ्न र सुन्न पाइन्छ तर आफू नै इतिहासको साक्षी बनेको सुन्न पाउने व्यक्ति थोरै मात्र हुन्छन्। तिनै थोरै व्यक्ति मध्येका एक हुन् हिराबहादुर घलान। मकवानपुरको थाहा नगरपालिका–५ तसर निवासी घलानले ८७ वटा हिउँद र वर्षा भोगेका छन्। जीवनमा अनेकौँ उतारचढाव पार गरेका घलान अहिले एक्ला त्यस्ता व्यक्ति हुन्, जो नेपालको एउटा सिंगो इतिहासका प्रत्यक्ष साक्षी बनेका छन्।
गत माघ २८ गते सोही गाउँ निवासी जुक्तबहादुर वाइबाकोे निधन भएपछि अहिले घलान एक जनाले मात्रै नेपाली इतिहासको एउटा सिंगो कालखण्डको प्रतिनिधित्व गरिरहेका छन्। जुक्तबहादुर पनि घलानसँगै गाडी बोक्ने काममा संलग्न भएका थिए। घलान यो गाउँ कै सबैभन्दा ज्येष्ठ नागरिक हुन्। हिराबहादुर घलान अर्थात् गाडी बोक्ने मान्छे। घलान नै गाडी बोक्ने पहिलो पुस्ता भने होइनन्।
उनका बुबाले पनि गाडी बोक्थे। आफ्नो बुबाले गाडी बोकेको थाहा पाएर आफूमा गाडी बोक्ने जाँगर र आँट पलाएको घलान बताउँछन्। ‘हाम्रा बा पनि गाडी बोक्ने रहेछन् त्यसैले हामी पनि बोक्ने भनेर सल्लाह गरेर गएको हुँ’, हिराबहादुर भन्छन्। घलानको जन्म मकवानपुरको दुर्गम गाउँ तसरमा भएको हो। काठमाडौंबाट फर्पिङ, कुलेखानी हुँदै करिब ३ घण्टा (मोटरसाइकल) को यात्रापछि घलानको गाउँ तसर (पुरण्डी) पुग्न सकिन्छ। सवारीसाधन रोकेर करिब ५ मिनेटको उकालो पैदल यात्रापछि घलानको घर आइ पुग्छ।
१३ वर्षमै घर छोडेर वीरगञ्ज :
मकवानपुरको दुर्गम गाउँ। भीरपाखाको जग्गा जमिन। हातमुख जोर्न सहर र मधेश पस्नुपर्ने बाध्यता। तिनै बाध्यता पछ्याउँदै घलान १३ वर्षकै उमेरमा मधेश झरे। घलानले गाडी बोक्नुभन्दा पहिले नै गाडी चढेका रहेछन्। काम गर्न वीरगञ्ज जाने सिलसिलामा उनले पहिलोपटक मोटरमा टेक्न पाए।
हलुका गाडी १२ दिन, गह्रौँ २५ दिन :
उनले आफू १८ वर्ष हुँदा देखि त्रिभुवन राजपथ नबनेसम्म साना ठूला गरी २५ वटा गाडी बोके। ‘हलुका गाडी १२ दिनमा पनि पुर्याउन सकिन्थ्यो, गह्रौँ गाडीलाई भने २५ दिनसम्म लाग्थ्यो’, घलानले आफ्नो अतीत स्मरण गरे। घलानले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्न पाए भने ६४ जनाले बोक्ने गाडी १० खेप जति बोके। बाँकी साना गाडीहरु भने ३२ जनाले बोकेको उनी सम्झिन्छन्।
यसरी काँधमा बोकिन्थ्यो गाडी :
सबै भन्दा पहिले गाडीको चक्का र बम्परहरु निकालिन्थ्यो। त्यस पछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठूल्ठूला पोल जस्ता नोलहरु राखिन्थ्यो। त्यसमा साना नोलहरु राखेर बाबियोको डोरीले कसेर नोल र गाडी एक ढिक्का हुने गरी बाँधेपछि अगाडि र पछाडि बराबर संख्यामा भरियाहरु बस्थे। अनि एकसाथ बल गरेर होस्टे हैंसे गर्दै बोकिन्थ्यो।
गाडी बोक्ने चलन कसरी सुरु भयो रु ‘मैले सुनेको कुरा है १’ सुरुमै सचेत हुँदै उनले आफूले सुनेका कुराहरु बताउन थाले । त्यस बखत काठमाडौंको नेवार समुदायका कुलबहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीमा काम गर्थे। पछि उनी गाडी चालक पनि भए। उनै कुलबहादुरले दरबारमा गई काठमाडौंमा गाडी भित्र्याउन पाए शासकहरुलाई सुविधा हुने कुरा सुनाए। स्रोत : नेपाल खबर