सडकखण्ड मर्मत नगरेको भन्दै स्थानीय आन्दोलनमा, स्थानीय र प्रहरी बीच झडप
गुगलपाटी संवाददाता काठमाडौंकाठमाडौंको बौद्ध–जोडराटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलनमा उत्रेका छन् । चार वर्षदेखि सडककखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर, भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।
सडक मर्मत नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।
बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।
प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।अहिले स्थिति सामान्य भइसकेको स्रोतले जनाएको छ ।