म प्रहरी हुँ भन्दै ठगी गर्ने तीनजना पक्राउ

गुगलपाटी संवाददाता वीरगञ्ज
२६ बैशाख २०७६ १०:०२

सादा पोशाक लगाँई म प्रहरी हुँ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, कलैया उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय मुकेश सर्राफ र फेटा गाउँपालिका-७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव पक्राउ परेका हुन् ।
उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट २५ गते बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरु मध्ये २ जना पूर्वप्रहरी र एक जना पूर्वसशस्त्र प्रहरी हुन् । तर, उनीहरुले बहालवाला सादा पोशाकको प्रहरी भन्दै सर्वसाधरणलाई ठगी गरिरहेको दावी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले सादा पोशाकको प्रहरी हुँ भनेर सर्वसाधरणलाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

प्रहरीका अनुसार थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।