धुुर्मुस सुन्तली फाउण्डेसनले बनाउने रंगशालाको लागि प्रदेश सरकारसंग १० करोड माग
गुगलपाटी संवाददाता
चितवनः प्रदेश सरकार नीति तथा योजना अयोग हेटौडाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि नीति कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण कार्यका लागि अनुरोध भएअनुसार योजना छनौट भएका छन् ।
३ निर्वाचन क्षेत्रका प्रदेश (क) अन्तर्गतको बिहीबार बैठक बसी योजना पेस गरिएको हो । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा ५० करोड लागतका लागि चितवनमा ३ वटा योजनाहरु प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको छ । १० करोड लागतका ९ वटा योजना गरी कुल २ अर्ब ४० करोडको १२ योजना प्रस्ताव गरिएको हो । प्रदेशले तीन निर्वाचन क्षेत्रमा हरेक प्रदेश निर्वाचन क्षेत्रबाट ३ वटा ५० करोडका योजना र ९ वटा १० करोडको योजना माग गरेको थियो ।
पश्चिम चितवनमा निर्माण हुन लागेको अन्तर्रा्ष्टिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारसमक्ष यस निर्वाचन क्षेत्रका जनप्रतिनिधिले दश करोड रुपैयाको योजना प्रस्ताव गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले बनाउने तयारी गरेको यस रंगशालामा सरकारको पनि प्रत्यक्ष सहयोग र सहभागिता होस् भनी दश करोड रकम लागि प्रस्ताव गरिएको यस क्षेत्रका प्रदेश सांसद कृष्ण भुर्तेलले बताउनुभयो ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा ५० करोड लागतको योजनाका लागि पूर्वी चितवन रिङरोड योजना अघि सारिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो । तटबन्धन तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि १० करोड प्रस्ताव गरिएको छ ।
चितवन निर्वाचन क्षेत्र २ मा ५० करोड योजनाका लागि यस प्रदेश निर्वाचन (क) मा सडक कालोपत्रे योजना छनोट गरिएको सांसद घनश्याम दाहालले बताउनुभयो । पहाडमा थुप्रै योजनाको माग भएकाले प्रदेशले मागेको भन्दा थप ५ वटा वढी योजना लेखेर पठाइएको सांसद दाहालले बताउनुभयो ।
निर्वाचन क्षेत्र ३ ‘क’ मा ४ वटा योजना प्रस्ताव गरेको छ । शिवघाट गोलाघाट नारायणी नदी नियन्त्रणसहितको करिडोर निर्माणका लागि ५० करोड रुपैयाँको योजना प्रस्ताव गरिएको प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले बताउनुभयो । १० करोडका ३ वटा आयोजना पनि छनौट भएका छन् । तीनवटै निर्वाचन क्षेत्रका प्रदेश (ख)को शुक्रबार बैठक बस्दैछ । उसले पनि २ अर्ब ४० करोडका १२ योजना सिफारिस गर्नेछ ।
यो समाचार उज्यालो अनलाईनबाट साभार गरिएको हो ।