बजेट निर्माणको लागि योजना मन्त्रालयद्वारा सुझाव संकलन

गुगलपाटी संवाददाता
२७ बैशाख २०७६ ०५:२२

हेटौंडा / तिन नम्बर प्रदेशको आर्थिक वर्ष २०७६।७७ को बजेट निर्माणको लागि तिन नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज अन्तरक्रिया एवं छ्लफल भएको छ । बजेट निर्माणको लागि संवद्व विभिन्न क्षेत्रका व्यक्ति, सस्थाका पदाधिकारीहरु विच छ्लफल भएको हो ।
सञ्चार क्षेत्रको अवस्था वारे बोल्दै हरि हुमागाईले स्थानीय तहको विज्ञापन पनि राष्ट्रियस्तरको मिडियामा आउँदा स्थानीय स्तरका सञ्चार माध्यम संचालनमा समेत समस्या हुने बताएका छन । हुमागाईले पत्रकारको क्षमता बढाउन प्रदेश सरकारले नीति बनाउन पर्ने बताए । बैकिङ क्षेत्रका तर्फबाट रमेश प्याकुरेलले बैंकहरु स्थानीय तहमा गएको भएता पनि सुरक्षाको व्यवस्था राम्रो नभएको बताए । उनले वित्तीय क्षेत्रमा घरेलुुमा नविकरण नभएकाहरुले ऋण लिदा बैंकहरुलाई समस्या भएको बताए ।
मकवानपुर चेम्बर अफ कमर्समा अध्यक्ष बिजय कुमार श्रेष्ठले घरेलुु उधोगमा काम गर्ने जनशक्ति पनि कम हुँदै गएको बताए । उनले सीप भएकाहरु सबै विदेश गएकोले साना उद्योगहरुलाई चिन्ता बढ्दै गएको बताए । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङका मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले सामुदायिक वनभित्र रहेका अव्यवस्थित काठहरुको उचित व्यवस्थापन हुनुपर्ने बताए । ढलापढा काठ प्रयोग गर्न पाउनु पर्ने नीति बन्नु पर्ने बताए । शिक्षा क्षेत्रबाट नेपाल राष्ट्रिय शिक्षक संगठन, ३ नम्बर प्रदेश अध्यक्ष निरबहादुर कार्कीले शिक्षा संकाय क्षेत्रमा प्रवेश गर्दा नै उच्च ग्रेड राख्नु पर्ने बताए । शिक्षा क्षेत्रमा कर्मकाण्डि तालीम मात्रैले नहुने बताएका छन् । यस्तै उद्योग वाणिज्य संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, गैरसरकारी सस्था महासंघका ३ नम्बर प्रदेश इन्चार्ज वुद्धशरण लामा, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल लगायतले सुझाव दिएका थिए ।
कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले विभिन्न क्षेत्रबाट आएको सुझावलाई समेटेर बजेट निर्माण गर्ने बताए । ढुङ्गेलले कस्ता नीति बनाउँदा प्रदेशको बजेट उत्कृष्ट हुन्छ भनेर सुझाव मागेका थिए । कार्यक्रममा नेकपा ३ नम्बर प्रदेशका सचेतक रामेश्वर फुँयालले नीति निर्माणको लागि सम्बन्धित क्षेत्रबाट लिखित रुपमा सुझाव दिन आग्रह गरे ।