प्रहरीद्वारा २७ रोपनी गाँजा नष्ट
गुगलपाटी संवाददाता बाजुराजिल्ला प्रहरी कार्यालय बाजुराले २७ रोपनी गाँजा नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।
एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी चौकी कुन्नाबाट गएको टोलीले जगन्नाथ गाउँपालिका–१ को पीलुचौरमा एक रोपनी गाँजाखेती नष्ट गरेको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।
त्यस्तै प्रहरी चौकी विच्छ्याबाट खटिएको टोलीले हिमाली गाउँपालिका–५ बिउडीगोली भन्ने स्थानमा एक रोपनी, अस्थायी प्रहरी पोष्ट जुड्डीबाट खटिएको टोलीले जगन्नाथ गाउँपालिका–२ जुड्डीमा चार रोपनी गाँजाखेती नष्ट गरेको छ । त्यस्तै अस्थायी प्रहरी पोष्ट धुलाचौरबाट खटिएको प्रहरी गस्तीले हिमाली गाउँपालिका–६ बोल्डीगमा एक रोपनी गाँजखेती नष्ट गरेको प्रहरी प्रमुख भाटले बताए ।
जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटबाट परिचालन गरेर ठूलो परिमाणको गाँजाखेती नष्ट गरिएको प्रहरीले बताएको छ ।
वर्षौँदेखि गाँजाखेती हुने र ठूलो परिमाणमा चरेस उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठूलो चलखेल हुने गर्छ । प्रहरी नायब उपरीक्षक भाटले जिम्मेवारी सम्हालेपछि अवैध मदिरा नष्ट, जुवातास, समाजमा शान्ति सुरक्षा भाँड्ने व्यक्तिलाई कारवाहीदेखि छाउपडीगोठ भत्काउनेसम्मका अभियान चलाइएको छ । वैशाख २० गतेदेखि शुरु गरिएको अवैध गाँजाखेती नष्ट गर्ने अभियान निरन्तर जारी रहेको भाटले बताए ।