तीनवर्षदेखि अलपत्र चापागाउँ –सातदोबाटो सडक हप्ता दिनभित्र मर्मत हुने

गुगलपाटी संवाददाता ललितपुर
२७ बैशाख २०७६ ११:३४

तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र शुक्रबार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको सडक मर्मतको काम ठेकेदारले गर्ने जिम्मेवारीबाट पन्छन चाहे तापनि उसैबाट काम अघि बढाइने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । ‘सडक मर्मत र निर्माणको काम ९९ प्रतिशत अघि बढ्ने तयारी भइसकेको छ’, महर्जनले भने, ‘अबको एक हप्ताभित्र सडकको काम पक्कै अघि बढाउने छौँ ।’

नगरपालिकाले मन्त्रिपरिषद् र सम्बन्धित अन्य निकायलाई आफैँ रु साढे पाँच करोड खर्च गरी सडक मर्मत र विस्तारको काम गर्ने चुनौती पटक पटक दिएसँगै उनीहरुले तत्काल गराउने सकारात्मक जवाफ दिएको महर्जनले बताए । सडक मर्मतको काम तत्काल शुरु नभए शनिबारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन् ।