दाहाल भन्छन्, ‘सगरमाथालाई ब्रान्ड बनाएर संसारभरि पानी बेच्न सकिन्छ’

गुगलपाटी संवाददाता काठमाडौँ
२७ बैशाख २०७६ १२:०२

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सगरमाथालाई ब्रान्ड बनाएर नेपालको पानी संसारभर बेच्न सकिने बताएका छन् । विश्वमा बेच्नुअघि देशभित्रको पानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनले जोड दिए ।

म श्रीलंका जाँदा नेपालबाट पानी ल्याउने रणनीतिक योजनाको कुरा भयो, सगरमाथाबाट निकालिने पानी, सगरमाथालाई ब्रान्ड बनाइयो भने संसारभरि बेच्न सकिन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम केन्द्रीय अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै दाहालले भने, भारत जाँदा पनि प्रधानमन्त्री मोदीसँग पानी निर्यातको विषयमा मेरो कुराकानी भएको थियो ।

देशभित्रकै खानेपानी समस्यालाई स्थायी रुपमा समाधान गर्न नसकेसम्म दुनियाँले पानी निर्यातसम्बन्धी नेपाल सरकारको व्यवस्थापन, क्षमतालाई विश्वास गर्ने आधार नहुने पनि उनले बताए । विश्वभरी खानेपानी पुर्‍याउनेसँग आन्तरिक रुपले खानेपानी समस्या समाधान गर्ने कुरा गहिरो सम्बन्ध रहेको दाहालको भनाइ थियो ।

काठमाडौं उपत्यकासहित देशभरको खानेपानीको समस्या समाधानका लागि सरकार लागिरहेको उनले दाबी गरे । वर्षौंदेखि काठमाडौं उपत्यका भित्र्याउने भनिएको मेलम्ची खानेपानीको योजनालाई अब नेतृत्वले हस्तक्षेप गरेर भए पनि ल्याइने उनले बताए । अहिले पनि सरकार छिटोभन्दा छिटो मेलम्ची ल्याउने तयारीमै छ । म आफैं पनि र प्रधानमन्त्रीजी पनि । हाम्रो चुनौती होु दाहालले भने, नेतृत्वले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा हामी दृढ छौं ।

खानेपानी मन्त्री, सचिवहरुले गएको दसैंभित्रै मेलम्ची राजधानी आइपुग्ने बताइरहँदा आफूले विश्वास नगरेको दाहालले उल्लेख गरे । उनले मेलम्ची पानी आउन नदिनमा नेपालीहरु नै संलग्न रहेको आरोप लगाउँदै अहिले पनि खेलहरु भइरहेको बताए ।

नेपालको जलस्रोतलाई हाइड्रोमा परिणत गर्ने बारेमा ठूल्ठूला सपना देखिसकेको र त्यसबाट प्रगति गर्ने ढोका खुलिसकेको दाहालले बताए । स्रोतः कान्तिपुर