नवोदय विद्यालय कप्तानमा मिलिसा

गुगलपाटी संवाददाता हेटौंडा
२७ बैशाख २०७६ १३:११

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको ‘विद्यालय कप्तान’मा कक्षा ९ की मिलिसा भेटवाल विजयी भएकी छिन् । कक्षा ९ मा अध्ययनरत इलिशा पराजुली, राधाकुमारी महत्तो, कृपा कार्की र योगेश श्रेष्ठलाई पराजित गर्दै भेटवाल अब्बल ठहरिएकी हुन् ।

विद्यार्थीहरुबीच ककस कार्यक्रमको आयोजना गरी विद्यालय तथा शिक्षकले उनीहरुलाई मतदान गरेका थिए । मतदानबाट भेटवाल विजयी भएकी हुन् । विद्यालय कप्तानमा विजयी भएकी भेटवाल र अन्तर सदनात्मक रुपमा चुनिएका ‘भाइस क्याप्टेन’ लाई शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयका निर्देशक दीपेश जोशीले सपथ ग्रहण गराएका थिए भने उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशी र प्रिन्सिपल सकुन्तला जोशीले प्रमाणपत्र र दर्जानी चिन्ह प्रदान गरिएको थियो ।

नव निर्वाचित मिलिसाले सम्पूर्ण विद्यार्थी, शिक्षक÷शिक्षिकाको सहयोगले मात्र सफलता मिल्ने तथा विद्यालयमा अनुशासन र पढाइलाई जोड दिने कुरा बताइन् ।

जिम्मेवारी, अनुशासन र नेतृत्व जीवनको अभिन्न पाटाहरु हुन् जुन विद्यार्थीले विद्यालयबाट सिक्नु नितान्त आवश्यक हुन्छ । आज जोजो जहाँ पुगेका छन् तिनीहरुको धरातल भनेको नै विद्यालय नै रहेकाले विद्यालयहरुले यस्ता खालका कुराहरुमा ध्यान दिनुपर्ने विद्यालयका निर्देशक जोशीले बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले कुनै पनि विद्यार्थी सिर्जनात्मक क्रियाकलापमा पोक्त भएमा मात्र विद्यार्थीले सफलता हाँसिल गर्नेमा जोड दिए ।

गतवर्ष विद्यालयको उत्कृष्ट क्याम्टेनको भूमिका निर्वाह गरेका स्वच्छा अधिकारीलाई शिल्ड, प्रमाण पत्र प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो । यसैगरी विद्यालयले आयोजना गरेको अन्तर सदन सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी भएकालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो भने शैक्षिक क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरेको थियो ।