बजेट अभावका कारण क्यानसरका बिरामीले पाएनन् सहायता रकम

गुगलपाटी संवाददाता काठमाडौं
२९ बैशाख २०७६ ०९:२०

 सरकारले क्यान्सरका बिरामीलाई दिँदै आएको एक लाख रुपैयाँसम्म सहयोग रकम पाँच महिनादेखि रोकेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिने गरिएको एक लाख आर्थिक सहायता पनि रोक्का गरिएको बताइन् ।

“हाल बजेट अभावका कारण क्यान्सरका बिरामीलाई दिँदै आएको एक लाख रुपैयाँ रोक्नु साथै अन्य क्यान्सरका बिरामीको सूची तयार गर्ने काम पनि स्थगित भएको छ”, उनले भनिन्, “क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा पनि पाँच लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ ।” आगामी आर्थिक बर्षको बजेटमा आखाँ क्यान्सरका बिरामीलाई पनि आर्थिक सहयोग गर्ने उनले आश्वासन दिइन् ।

त्यसैगरी, कार्यक्रममा बोल्दै तिलगंगा आखाँ प्रतिष्ठानका संस्थापक एवम् कार्यकारी निर्देशक डा। सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने बताए ।

उनले आँखा क्यान्सरको अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शुल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई सो रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत् पनि सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।