आफ्नो रेकर्ड तोड्दै कामीरिताले २३ औँ पटक सर्वोच्च शिखर चुमे

गुगलपाटी संवाददाता सोलुखुम्बु
१ जेष्ठ २०७६ ०६:२५

 कीर्तिमानी आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका ४९ वर्षीय शेर्पाले बुधबार बिहान ७ः५० मा आफ्नै रेकर्ड तोड्दै २३ औँ पटक सर्वोच्च शिखर चुमेका हुन् । शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले शेर्पाले हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा बढी पाइला टेक्नेमा कामीरिताकै नाम छ । उनीपछि आप्पा शेर्पा र फुर्वातासी शेर्पाले समान २१, २१ पटक सगरमाथा चढेका छन् । उनीहरुले आरोहणबाटै सन्यास लिइसकेका छन् ।

कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउँदै आएका छन् । उनले पहिलो पटक सन १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।