वृद्धको हत्या गरेको आरोपमा पाँच प्रहरीविरुद्ध मुद्दा

गुगलपाटी संवाददाता बैतडी
१ जेष्ठ २०७६ १०:१४

पाटन नगरपालिका–६ लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई प्रहरीले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । उनका आफन्तले कुटपिट गरी हत्या गरेको आरोप लगाएका हो । आरोप बैशाख ३० गते राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।

पन्तले हँसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते समेत भएकी छिन् । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका हुन् ।

लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप लगाइएको हो । घटनापछि कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त मुद्दा अदालतमा पेश गरिने प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन् । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।