मालपोत कार्यलयका सुव्बासहित पाँच जनाविरुद्ध मुद्धा

गुगलपाटी संवाददाता वीरगञ्ज
२ जेष्ठ २०७६ ०९:५५

मालपोत कार्यालय, कलैयाका तात्कालीन फाँटवाला नायव सुव्बा मदनप्रसाद गुप्तासहित पाँच जनामाथि अख्तियारले बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

नासु गुप्तासहित उनका निजी ड्राइभर सुनिल कुमार पटेल, लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुव्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्तासहित ५ जनाबिरुद्ध अख्तियारले बिशेष अदालतमा आरोप पत्र दर्ता गराएको हो।

गुप्ताले मालपोत कार्यालय,कलैयमा आर्थिक बर्ष २०७४र०७५मा पारित गरेका सक्‍कलै लिखतहरु र सो सँग सम्वन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, राजश्व रसिदको कार्यालयप्रति समेतका महत्वपूर्ण कागजातहरु सम्वन्धित कार्यालयमा नबुझाएको देखिएको छ।

गुप्ताले मालपोथत कार्यालयमा रहने कागाजातहरु आफ्ना ड्रमईभर पटेलको डेरामा लुकाई राखेको अवस्थामा अख्तियारकै टोलीले उनको डेराबाट बिभिन्न कागाजातहरु बरामद गरेको थियो।

नासु गुप्ताले आफू अन्य कार्यालयमा समेत सरुवा हुदा बुझिलिएका राजश्व रसिद, निजले पारित गरेका सक्कलै लिखतहरु र सो सँग सम्वन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, समेत महत्वपूर्ण कागजातहरु कानून बमोजिम बरबुझारथ नगरी आफैसित लगेर राख्‍ने गरेका थिए।

उक्त कार्यमा उनका ड्राईभर पटेलले सहयोगी भूमिका निर्वाह गर्दै आएका थिए। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ वमोजिमको कसूर अपराधमा नाय सुब्बा गुप्ता,लेखापाल ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुव्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्ताबिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए।

यस्तै गुप्ताका निजी ड्राईभर पटेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ वमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।