जनवर्गीय संगठनमा भागबण्डा टुंगियो, को को बन्दैछन् नेता ?

गुगलपाटी संवाददाता काठमाडौं
२ जेष्ठ २०७६ १२:३४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्वको टुंगो लगाएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डाको टुंगो लगाएको हो ।

जसअनुसार विद्यार्थीको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत रहने गरी सहमति जुटेको छ ।

महर तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेता हुन् ।

यस्तै युवामा रामप्रसाद सापकोटा दिपशिखा संयोजक र सहसंयोजकमा रमेश पौडेल रहने सहमति जुटेको छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् ।

महिलामा सांयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन् ।

यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

प्रेस संगठनमा तत्कालीन माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल संयोजक र तत्कालीन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ ।

त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक रहने सहमति बनेको छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।

जनबर्गीय संगठनका सवै नाम टुंगो लगाएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी छ ।