नेपाली किशोरले इंग्लिस प्रिमियर लिग क्लबमा खेल्ने

गुगलपाटी संवाददाता लण्डन
३ जेष्ठ २०७६ ०९:२१

लण्डनमा बस्दै आएका नेपाली मूलका एक किशोर इंग्लिस प्रिमियर लिग खेल्ने क्लबमा आवद्ध भएका छन्। साउथ इस्ट लण्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमका लागि अनुबन्धन भएका हुन्।

बिहीबार लण्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच आउँदो सिजन ९२०१९र२०० का लागि सम्झौतामा हस्ताक्षर भएको छ । इंग्लिस प्रिमियिर लिग इंग्ल्याण्डको सबैभन्दा उपल्लो तहको फुटबल लिग हो। विश्व फुटबलकै प्रतिष्ठित यो लिग इंग्ल्याण्डका शीर्ष २० क्लबले मात्र खेल्छन्।यस सिजनमा प्रिमियिर लिगको एघारौं स्थानमा आउन सफल वाटफोर्ड क्लब एफए कपमा भने म्यानसिटीसँगै फाइनलमा छ।

वाटफोर्डले जयलाई छनौट गर्नुअघि केहि महिना लगाएर विभिन्न चरणमा उनको ट्रायल लिएको थियो। अब आउँदो सिजनमा उनले प्रिमियिर लिग खेल्ने अन्य सबै इंग्लिस क्लबका अन्डर १६ टिमविरुद्ध खेल्ने मौका पाउनेछन्।

सिजनको अवधिभर उनी क्लबले प्रदान गर्ने साताको चार दिन प्रशिक्षणमा सहभागी बन्नेछन्। प्रिमियर लिग खेल्ने क्लबको कुनै टिममा अवसर पाउने नेपाली मूलको दोस्रो खेलाडी सम्भवतः जय नै हुन्। यसअघि विभेश गुरुङले अर्को प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा मौका पाएका थिए।

यो उपलब्धिबाट हामीहरु निकै खुशी र गौरवान्वित छौं, जयका बुवा प्रसिद्ध प्रधानले भने, हाम्रो छोराले हाँसिल गरेको सफलता भविष्यमा अरु धेरै प्रतिभावान नेपाली खेलाडीको लागि प्रेरणा बन्नेछ भन्ने हामीलाई आशा छ।

अन्डर १६ टिमका लागि पाएको अवसर सदुपयोग गर्न सके भविष्यमा मुख्य टिममै पनि छनौट हुन सक्ने सम्भावना धेरै रहन्छ। प्रिमियिर लिग क्लबसँगको अनुबन्धनपछि जय पनि निकै उत्साहित छन्। उनी भन्छन्, मैले धेरै वर्षहरुदेखि जुन लक्ष्य बनाएर मेहनत गर्दै आएको थिए, त्यसलाई हाँसिल गर्नका लागि एउटा महत्वपूर्ण प्लेटफर्म पाएको छु। अब मैले आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ।ु

ुमैले सानोमा फुटबल खेल्न सुरु गरेदेखि नै एक दिन म पनि प्रिमियर लिग खेल्नेछु भन्ने सपना देखेको थिएँ। त्यहि सपनालाई पूरा गराउन अबदेखि झन् बढी मेहनत र अभ्यास गर्दै अघि बढ्नुपर्ने चुनौति आएको छ, जयले भने।

लण्डनमै जन्मिएका जय ४ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका हुन्। यसअघि उनले टोटेनहाम र वेस्टह्याम जस्ता प्रिमियिर लिग क्लबमा पनि ट्रायलमा खेलिसकेका छन्। त्यस्तै उनले जुनियर रेड्सबाट नन लिग तहको केन्ट लिग पनि खेलेका थिए।

लण्डनमा अध्यापन पेशामा संलग्न जयका बुवा प्रसिद्ध फुटबलका एफए क्वालिफाइड प्रशिक्षक पनि हुन्।उनी अढाई दशकअघि बेलायत आउनुपूर्व नेपालमा ए डिभिजन क्लबबाट खेल्ने गर्थे।

आफूलाई जुन क्षेत्रबारे ज्ञान थियो, छोरालाई सोही क्षेत्रबारे बुझाउन, सिकाउन मैले कोशिस गरेको हुँ, प्रसिद्धले भने, उसले पनि फुटबलमै आफ्नो इच्छा देखाएपछि आज यो उपलब्धि सम्भव भएको हो।मलाई उसले अझै धेरै प्रगति गर्दै जानेछ भन्ने विश्वास छ।

इंग्लिस प्रिमियर लिग क्लबका कुनै पनि टिममा एशिएन पृष्ठभूमिका खेलाडी अहिलेपनि नगण्य अवस्थामा रहेको जयको उपस्थिति महत्वपूर्ण र सन्देशमुलक बन्ने अपेक्षा उनले गरेका छन्। स्रोतः अन्नपुर्णपोष्ट