मारिए ३३ जना माओवादी लडाकु

रासस भारत
११ बैशाख २०७५ ०९:५६

 महाराष्ट्र राज्यको गडचिरोलीमा माओवादी लडाकुले ठुलो क्षति भोग्नुपरेको छ । माओवादी आन्दोलनलाई निमिट्यान्न पार्न भन्दै भारतीय सरकारले थालेको कारबाहीका क्रममा दुई दिनमै ३३ जना माओवादी मारिएका छन् ।

गडचिरोली पुलिसले गरेको सबैभन्दा ठुलो सर्च अप्रेशनका क्रममा आइतवार यता तीन दिनमा ३३ जनाको ज्यान गएको हो । आइतवार १६ जना माओवादी मारिएपछि सोमबार पनि ६ जना मारिएका थिए । सोमवार साँझ जिमलगट्टा-रामाराम खान्दला जंगल क्षेत्रमा भएको भीडन्तमा ६ जना थप मा‌‌ओवादी मारिएका हुन् ।

आइतवार बिहान महाराष्ट्र र छत्तीसगढ राज्यको सीमा जोडिएको कसनापुर-बोरिया जंगल क्षेत्रस्थित इन्द्रावती नदी तट क्षेत्रमा विशेष अभियान दल (सी-६०) का कमाण्डो सीआरपीएफको नवौँ बटालियनका जवानले मिलेर १६ माओवादीको ज्यान लिएका थिए ।

यिनमा दुई डिभिजन कमाण्डर- साईनाथ र श्रीनु पनि रहेका छन् । दुवैजनामाथि राज्य सरकारले १६-१६ लाख रुपैयाँको पुरस्कार राखेको थियो ।

साईनाथविरुद्ध जिल्लाका विभिन्न थानामा ७५ र श्रीनुविरुद्ध ८२ मामिला दर्ता थिए । सोमवार १६ मा ११ माओवादीको शव सनाखत भएको छ । अन्य माओवादीको शवको सनाखत भइरहेको छ ।