विद्यालयमा शेर्पा भाषाको पठनपाठन

गुगलपाटी संवाददाता ओखलढुंगा
५ जेष्ठ २०७६ ०९:४१

 जिल्लाको अति दुर्गम मानिएको खिजीदेम्बा गाउँपालिका ९ स्थित शिवालय मावि छेर्मादिङमा शेर्पा भाषामा पठनपाठन सुरु भएको छ।

नयाँ शैक्षिक शत्रदेखि स्थानीय शेर्पा भाषामा पठनपाठन सुरु गरिएको विद्यालयले जनाएको छ। स्थानीय विषय अन्तर्गत कक्षा १ र २ मा शेर्पा भाषामा पठनपाठन सुरु गरेकोे प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिए। विद्यालयको आन्तरिक स्रोतबाट पाठ्यपुस्तक र भाषागत शिक्षकको व्यवस्था गरेको नेपालले बताए।

हिमाली शिशु उपहार नामक पाठ्यक्रम लागु गरेपछि विद्यार्थीले शेर्पा भाषा अध्ययन गर्न थालेका हुन्। सँगै उनीहरुलाई शेर्पा संस्कृति र बौद्ध संस्कार पनि सिकाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा गेल्जे शेर्पाले जानकारी दिए।

शेर्पा समुदायको बाहुल्यता रहेको क्षेत्रको विद्यालयमा केही वर्षपहिले पनि स्थानीय भाषाको पाठ्यक्रम लागु गरिएको थियो। यद्यपि शिक्षक राख्न नसक्दा कक्षा बन्द भएको थियो।

विद्यालयले कक्षा ५ सम्म शेर्पा भाषा पाठ्यक्रम राख्ने लक्ष्य राखेको छ। कक्षा सुरु भएपछि विद्यार्थीलाई गुम्बा शिक्षाका लागि समेत सहज हुनेछ। उनीहरुले बौद्ध संस्कार अनुसार पूजापाठ गर्न, आफ्नो भाषामा पढ्न, संवाद गर्न सिक्नेछन्।