आफ्नो काम आफै गरौँ ।

गुगलपाटी संवाददाता एजेन्सी
५ जेष्ठ २०७६ १०:५०

तपाईं मस्त सोफामा बस्नुहुन्छ र आदेश दिनुहुन्छ, ‘एक कप चिया ल्याउ त ।’  कसैले तपाईंको हातमै चिया टक्र्याउँछन् । चियाको चुस्की लगाउँदै भन्नुहुन्छ, ‘भित्र टेबुलमा पत्रिका छ, खोजेर ल्याइदेउ त ।’

कसैले तपाईंको हातमै पत्र-पत्रिका थमाइदिन्छन् । तपाईं भन्नुहुन्छ, ‘अहो ! चस्मा भुलेछु, ओछ्यानको छेउमा होला, खोजेर ल्याइदेउ न ।’

कसैले तपाईंको चस्मा ल्याइदिन्छन् । पत्र-पत्रिका पढ्दापढ्दै मोबाइलको रिङटोन बज्न थाल्छ । तपाईं भन्नुहुन्छ, ‘मेरो फोन आएजस्तो छ, खै यहाँ ल्याउ त ।’

उठेर ओहोर-दोहोर गर्दै फोन गर्नुहुन्छ । फोन गरेकै सुरमा तपाईं छतमा उक्लनुहुन्छ । फोन-वार्ता सकिन्छ । तपाईंलाई आफुले छाडेको चियाको तलतल लाग्छ । पढ्न बाँकी पत्रिका हेर्न मन लाग्छ । फेरी अह्राउनुहुन्छ, ‘ए, त्यो तल बार्दलीबाट मेरो चिया र पत्रिका ल्याइदेउ ।’

तपाईंलाई नुहाउन मन लाग्छ । वाथरुमको सम्मुखमा पुगेर भन्नुहुन्छ, ‘टाबेल कता छ ? खोजेर यहाँ ल्याइदेउ त ।’

ठिक यसैगरी तपाईं डाइनिङ टेबलमा पनि अरुकै भर पर्नुहुन्छ । थाल ल्याउने, भात पस्कने, पानी दिने, जुठो थाल उठाउने सबै काम अरु कसैले गरिदिन्छन् । घरबाट निस्कनुअघि तपाईंको फोन, पर्स, चस्मा आदि सबैकुरा अरुले नै तयार गरिदिनुपर्छ । जुत्तामा पोलिस अरुले नै लगाइदिनुपर्छ ।

अनुत्पादक वा झिनामसिनो काम

तपाईं यावत् काम आफै किन गर्नुहुन्न ? संभवत यसको जवाफ तपाईं यसरी दिनुहुन्छ । ‘यस्तो काम गर्ने फुर्सद छैन ।’ ‘सानोतिनो काम गर्ने जाँगर चल्दैन ।’ चिया बनाउनु, ल्याउनु, पत्रपत्रिका खोजिदिनु, जुत्ता पोलिस गर्नु यी सबै काम तपाईंलाई ‘झिनामसिना’ लाग्न सक्छ । वा यी काम तपाईंलाई ‘अनुत्पादक’ लाग्नसक्छ ।

त्यसैले आफुले खाएको जुठो थाल उठाएर माझ्ने ठाउँसम्म पुर्‍याउने आवश्यक्ता महसुष गर्नुहुन्न । ओछ्यान मिलाउने जाँगर गर्नुहुन्न ।

यस्तो काम गरेर हामी समय खेरो फाल्न चाहन्नौ । यस्तो काम गरेर हामी अनावश्यक समय वर्वाद गर्न चाहन्नौ । यस्ता काम गरेर हामी आफुलाई सानो देखाउन चाहन्नौ । यी हाम्रा काम होइनन् । हामीलाई यस्तै भ्रम, दम्भ, अहंकारले गाँजेको छ ।

के फुर्सद नभएको हो ?

हामी आफ्नै काम पनि अरुलाई गर्न लगाउँछौ । किनभने हामीलाई यस्ता काम गर्ने फुर्सद छैन । हाम्रो लुगा अरुले धोइदिनुपर्ने, हाम्रो खाना अरुले पकाइदिनुपर्ने, हाम्रो किनमेल अरुले गरिदिनुपर्ने । त्यती मात्र होइन, हाम्रो जुठो थाल पनि अरुले उठाइदिनुपर्ने, हाम्रो ब्याग पनि अरुले ठिक्क पारिदिनुपर्ने, हाम्रो ओछ्यान पनि अरुले मिलाइदिनुपर्ने ।

हामी यतिधेरै व्यस्त किन ?

आफ्नै काम समेत गर्न सक्दैनौ । अर्थात हामीलाई आफ्नै लागि समय दिने फुर्सद पनि छैन । त्यसोभए हामी कसका लागि काम गरिरहेका छौ । यत्तिका दौडधूप, धपेडी, व्यस्तता कसका लागि ? हामीलाई आफ्नै लागि समय छैन भने अरु कसका लागि हामी समय खर्चदैछौ ? कसका लागि भागदौड गर्दैछौ ?

अर्को कुरा, यदि हामी आफ्नै लागि सानोतिनो काममा अल्झन चाहँदैनौ भने अरु कसैको समय चाहि किन हामीले आफ्नो लागि नष्ट गरिदिदैछौ ?

कसैले हामीलाई चिया ल्याइदिन्छन्, जुत्ता पोलिस गरिदिन्छन्, पत्रिका ल्याइदिन्छन् । के उनीसँग चाहि पर्याप्त समय भएर हो ?

पक्कै होइन । हामी कतिपय कुरामा अरुको मूल्य भुल्छौ । अरुको समय र श्रमको मूल्य भुल्छौ । हामीलाई आफुमात्र सर्वोपरी लाग्छ । चाहे त्यो तपाईंको घरका कामदार हुन् वा श्रीमती । उनीहरुले हाम्रो लागि आफ्नो समय कटौती गर्नुपर्ने हुन्छ ।

आफ्नो काम किन आफै नगर्ने ?

जतिसुकै व्यस्त भएपनि, जतिसुकै प्रतिष्ठित भएपनि, जतिसुकै धनाड्य भएपनि हामी आफ्नो नितान्त व्यक्तिगत काम आफै गर्न सक्छौ । हामीले गर्दागर्दै नभ्याउने अवस्थामा वा नसक्ने अवस्थामा अरुको सहयोग लिनु ठिकै हो । अथवा आफु अशक्त भएको बेला अरुको सहयोग लिनुलाई अन्याथा मान्न सकिदैन ।

तर, हाम्रो हातगोडा चल्छ । शरीर चल्छ । दिमाग चल्छ । इन्दि्रयहरुले ठिक-ठिक ढंगले काम गर्छ । तब हामी किन परनिर्भर हुने ? अरुलाई चिया बनाउन आदेश दिनुभन्दा आफै उठेर भान्सामा जाने, चिया बनाउने । आफ्ना लागि आफै सर्भ गर्ने । आफ्नो लुगाफाटो आफै मिलाउने । जुत्ता आफै पोलिस गर्ने । मोबाइल, पर्स, कार्ड, कागजात आदि सबै आफैले व्यवस्था गर्ने ।

के यत्ति काम गर्दा हामी बर्वाद हुन्छौ ? के यत्ति काम गर्दा हाम्रो प्रतिष्ठामा आँच आउँछ ? के यत्ति काम गर्दा हामी कमजोर र निरिह हुन्छौ ?

होइन । बरु यसले हामीलाई फाइदा गर्छ । एक त हामी आफ्नो कामप्रति सजग हुन्छौ । हाम्रो सक्रियता बढ्छ । शारीरिक स्फूति बढ्छ । व्यायाम गर्नका लागि अतिरिक्त समय नभइरहेको अवस्थामा शरीर राम्ररी चलायमान हुन्छ ।

यसरी आफुले काम गर्दा अरुलाई दोष दिने ठाउँ रहँदैन । आफ्नो लागि चिया बनाउँछौ भने कति चिनी राख्ने, कति पकाउने भन्ने कुरा हामी आफ्नो जिब्रोको स्वाद अनुसार आफै तय गर्न सक्छौ । लुगाफाटो आफै मिलाउने हो भने कुन, कहाँ छ भन्ने कुरा अरुलाई सोधिरहनुपर्दैन ।

यसको ठूलो फाइदा भनेको आफ्नो कारण अरुले दुःख पाउँदैनन् । आफ्नो कारण अरुको समय र श्रम नष्ट हुँदैन । त्यसो भए आफ्नो काम किन आफै नगर्ने ?