प्रदेश प्रमुख कोईरालाको सम्बोधन, सुरुङ मार्ग सरकारको प्राथमिकतामा

गुगलपाटी संवाददाता हेटौंडा,११ वैशाख
११ बैशाख २०७५ १०:०९

प्रदेश तीनकी प्रदेश प्रदेश प्रमुख अनुराधा कोईरालाले सुरुङ मार्ग निर्माणमा प्रदेश सरकारले तत्परता देखाएको बताएकी छिन् । पहिलो पटक प्रदेशसभा मंगलबार बैठकलाई सम्बोधन गर्दै कोईरालाले यस्तो बताएकी हुन् ।
‘प्रदेशलाई सुरुङ मार्ग मार्फत छोटो दुरीको पहुँच, एक जिल्ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार र नयाँ शहरहरुको अध्ययन, निर्माण र बिस्तार, जोखिममा रहेको बस्तीहरुको स्थानान्तरण, भूउपयोग नीति लागू गरी भूमिको ब्यवस्थापन लगायत कार्यक्रम मार्फत अघि बढ्न प्रदेश सरकारले बढाएको तत्परतार दृढ संकल्पप्रति म खुशी छु’, उनले भनिन् । आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनअपेक्षाका धेरै विषय समेटिने उनको विश्वास छ ।
साथै उनले भूकम्प पीडित ३० प्रतिशत जनाले मात्र आंशिक रात पाएको बताईन् । ‘सबै जनतालाई छानामुनी लैजाने कुरामा प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ’, सम्बोधनको क्रममा उनले भनिन्, ‘सबै पीडितलाई छानामुनी ल्याउन नसकेको यथार्थता हामीसामु छ ।’
अशान्ति, दमन, भ्रष्टाचार, उत्पिडन र कुनै पनि प्रकारको बिभेदको अन्त्य यो प्रदेशको परिचय बनोस् भन्ने विश्वास राखेको कोईरालाले बताईन् ।
साथै उनले कुनै पनि बहानामा हिंसा, मुठभेड र अराजकतातर्फ सामाज धकेलिन नहुनेमा जोड दिईन् । ‘नेपाललाई पराधीन बनाउने सोचहरु कमजोर भएको र बिभाजित बनाउने शक्तिहरु किनारा लागेकाले समृद्धिको मार्गमा अघि बढ्दै गरेको स्पष्ट मार्ग चित्रहरु देखिन थालेको छ’,उनले भनिन् ।
पहिलो पटक प्रदेशसभा बैठकमा सम्बोधन गर्न आएकी प्रदेश प्रमुख कोईरालाको सम्मानमा प्रदेश सभा सचिवालयमा चियापान कार्यक्रम पनि गरिएको थियो । अर्को प्रदेशसभा बैठक वैशाख १३ गते बस्ने प्रदेश सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।