पुर्व आयुक्त छुटेको ४ दिनमै हेटौंडा आईपुगे प्रमुख आयुक्त

गुगलपाटी संवाददाता
५ जेष्ठ २०७६ १४:१०

हेटौंडा : अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटको ४ दिन पछि बहालवाला प्रमुख आयुक्त हेटौंडा आइपुगेका छन् । नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्व आयुक्त पाठकले ७८ लाख घुस लिएको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएसँगै पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो ।
४ दिन पछि आज आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरे प्रदेश ३ को राजधानी हेटौंडामा कार्यालय प्रमुखहरुसँग छलफल गर्दै निर्देशन दिएका हुन् । उनले विचौलियको कारणहरुले अनियमितता बढदै गएको बताएका छन् । तीनै तहका सरकारमा विचौलिया प्रभाव बढ्दै गएको उनले बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै उनले हरेक क्षेत्रमा हुने विचौलीयाको प्रभाव बढ्नु चुनौतीको विषय भएको बताए । उनले स्थानीय तहमा देखिएको विचौलियाले स्थानीय प्रशासनले नै तह लगाउन पर्ने बताए । सरकारले गरेका एक हजार ८ सय ४८ वटा रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठुलो अनियमितता भएको भन्दै उनले उक्त योजना मध्ये ४७ वटा योजनाको अनियमितताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको बताए ।

१ सय ४० जनाको सम्पत्ती छानबिन गर्दैछौं : घिमिरे
प्रमुख आयुक्त घिमिरेले पछिल्लो समय बाहिर आइरहेको सरकारी जग्गाको अनियमिततामा अख्तियारले बिस्तृत अनुसन्धान गरिरहेको बताएका छन् । उनले अनियमितताको बारेमा कार्यालय प्रमुखहरुले विशेष रुपमा हेर्न निर्देशन दिएका हुने । अख्तियारका अनुसार अहिले १ सय ४० जनाको सम्पत्तिमा अख्तियारले छानविन गरिरहेको छ । स्थानीय तहका सरकारमा सबै भन्दा धेरै भ्रष्टाचार बढेर गएको घिमिरेले बताएका छन् । स्थानीय तहको भ्रष्टाचार डरलाग्दो रहेको भन्दै नातेदार र नजिकका व्यक्तिलाई स्थानीय तहले उपभोक्ता समिति बनाएर काम गर्दा भ्रष्टाचार बढेको बताएका हुन् । अख्तियार आयोगका सचिव महेश्वर न्यौपानेले सबै भन्दा बढी उजुरी स्थानीय तहका परेको बताए । स्थानीय तहमा भएका नराम्रा काम जिल्ला समन्वय समिति र प्रदेश सरकारले हेर्नुपर्ने न्यौपानेले बताएका छन् ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सरकारका प्रमुख सचिब आनन्दराज ढकालले क्रसर उद्योग र खोला उत्खनन् निकै डरलाग्दो रुपमा अगाडी बढेको बताएका थिए । बालुवा, ढुङ्गाको उत्खननको नियमन गर्ने संघिय सरकार की प्रदेश सरकार भन्ने अझै अन्यौलता रहेको बताएका थिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, आयोगको हेटौंडा कार्यालयका प्रमुख हुमकला पाण्डे, कार्यक्रममा प्रदेश सरकारका सचिवहरु लगायतको उपस्थिती रहेको थियो ।