एमबाप्पे जीते एकसाथ दुई अवार्ड
गुगलपाटी संवाददाता एजेन्सीपेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेले एकसाथ दुई अवार्ड जितेका छन् । लिग वानमा वर्षको उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडी गरी दुई अवार्ड उनले जितेका हुन् ।
फ्रान्सका २० वर्षिय एमबाप्पेले लिग वानको यो सिजनमा ३२ गोल गरेका छन् । जारी सिजनमा २८ खेल खेलेका एमबाप्पेले ६ गोलका लागि पास उपलब्ध गराएका छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा समेत छन् ।
एकसाथ अवार्डपछि एमबाप्पेले आफ्ना लागि यो क्षण निकै महत्वपूर्ण रहेको बताएका छन् । ‘‘मलाई लाग्छ मेरा लागि यो निकै महत्वपूर्ण पल हो । यो भविष्यका लागि उर्जा र टर्निङ हो । म निकै खुसी छु,” एमबाप्पेले भनेका छन् ।
उक्त अवार्ड कार्यक्रममा विमान दुर्घटनामा ज्यान गुमाएका सालालाई विशेष सम्मान गरिएको थियो । उनी नयाँ क्लब कार्डिफ जाने क्रममा विमान दुर्घटनामा परेका थिए ।