अध्यक्षका छोराले दिए पत्रकारलाई ज्यान मार्ने धम्की

गुगलपाटी संवाददाता कालिकोट
६ जेष्ठ २०७६ ११:१९

कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्षका छोराले थाहाकर्मी एवं पत्रकार रमेश रावललाई ज्यान मार्ने धम्की दिएका छन् । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा विशाल विष्टले पत्रकार रावललाई सोमबार दिउँसो ठिक ३ बजे फोन गरी ज्यान मार्ने धम्की दिएका हुन्। मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको पहिले समाचार लेख्ने हात काट्ने र पछि ज्यान मार्ने धम्की दिएका हुन्।

गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने समाचार लेखेको आधारमा अध्यक्षका छोराले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले बताएका छन्। केन्द्रको सरकार पनि आफ्नो पार्टीको भएको र स्थानीय सरकार पनि आफ्नै पार्टीको भएकाले जुनसुकै बेला पनि मार्ने धम्की दिए,’ उनले भने। पत्रकार रावलले सोमबार नै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन्।

पत्रकार रावल नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेका साथमा सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। यसैबीच, गाउँपालिकाका अध्यक्षका छोरा विष्टले धम्की दिएको स्वीकारेका छन्। उनले समाचारको खण्डन गर्नभन्दा पनि पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको भन्दै पन्छिन खोजे।