भोजपुरमा प्रहरी र विप्लव माओवादी भीडन्त
गुगलपाटी संवाददाता
भोजपुर : छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रस्थित टेम्केमैयुङ गाउँपालिका वडा –१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताबीच मुठभेड भएको छ ।
दिउँसो भएको मुठभेडमा प्रहरीको गोली लागी षडानन्द नगरपालिका वडा नं। २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे घाइते भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।
सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरेलाई उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बताउनुभयो । घिमिरेलाई हतियारसहित फेला समातिएको उहाँको भनाइ छ । विप्लप समूहका कार्यकर्ताहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताउनु भयो । दर्जनौंको समुहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ ।
घिमिरेको साथबाट एक थान कटुवा पेस्तोल, ५ राउण्ड गोली, लामो बाइनाकुलर १ थान , डेटोनेटर ४ थान, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।
विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुङ्ग, दोभानेमा विप्लवका हतियारधारी लडाकुहरु रहेको प्रहरीले सूचना पाएको थियो । सूचनाको आधारमा प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले बताउनु भयो ।
स्रोत : जनता समाचार