विप्लव कार्यकर्ताको प्रहरी इन्काउन्टरमा मुत्यु
गुगलपाटी संवाददाता भोजपुरप्रहरीले गोली हानी भोजपुरबाट मंगलबार पक्राउ गरेका विप्लव माओवादीका कार्यकर्ता तीर्थ घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।
प्रदेश नम्बर १ का प्रहरी नायब महानिरिक्षक केदार रिजालका अनुसार उपचारका क्रममा मंगलबार राति घिमिरेको मृत्यु भएको हो । रिजालका अनुसार उनलाई दाहिने तिघ्रामा गोली लागेको थियो ।
उनी षडानन्द नगरपालिका २ का बासिन्दा हुन् । घिमिरेलाई प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी नियन्त्रणमा लिएको थियो ।
घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि उनीमाथि गोली चलाइएको थियो ।
उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको प्रहरीको भनाइ छ ।