एपिएफले प्रदेश ३ लाई हरायो

गुगलपाटी संवाददाता
११ जेष्ठ २०७६ ११:४८

हेटौंडा ; ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकका बाबजुद प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ ।

२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनायो । प्रदेश ३ का उप कप्तान ज्ञानेन्द्र मल्लले १ सय १७ रनको शतकीय उत्कृष्ट इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । मल्ले ४७ ओभरको पाँचौ बलमा अभिनास बोहोरालाई चौका हान्दै १ सय २ बलमा शतक प्रहार गरेका थिए । मल्लले १ सय ११ बलमा ५ छक्का र ८ चौका प्रहार गरेपनि टोलीको हार्न टार्न सकेनन् । मल्ललाई अन्तिम ओभरको दोस्रो बलमा अभिनास बोहाराले शरद भेषवाकरबाट क्याच आउट गराएका थिए । कप्तान पारस खड्का ४६ रनमा आउट भए । भुवन कार्कीको २९ ओभरको पाँचौ बलमा ठूलो शट खेल्ने धुनमा सुमित महर्जनबाट क्याच आउट हुनु अघि पारसले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि ओपनर रित गौतम र जितेन्द्र सिंह ठकुरीले ११।५ ओभरमा ४० रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । पृथु बास्कोटाले ठकुरीलाई एलवी डब्लू आउट गर्दै १२ रनमा पेभिलिएन फर्काए । १३ ओभरको पाँचौ बलमा रित २७ रनमा रन आउट भए । रन आउट हुनुअघि ५२ बलमा ४ चौका प्रहार गरे । अभिषेक बस्नेत ९,रविन जोशी २,सोनु तामाङ ४ र सोनु देवकोटा १५ रनमा आउट भए । एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अभिनाष बोहोराले २,पृथु बास्कोटा र भुवन कार्कीले समान १ विकेट लिए ।

त्यसअघि टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । एपीएफलाई बलियो योगफल सम्म पुर्याउन युवा खेलाडी सुमित महर्जनले ९४ रनको उत्कृष्ट इनिङ खेले । कप्तान पारस खड्काको ४० ओभरको अन्तिम बलमा दुई रन लिने क्रममा सोनु देवकोटाले रन आउट गराएपछि सुमित शतक बनाउन ६ रनले चुक्न पुगेका हुन् । रन आउट हुनु अघि उनले १ सय ३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे । तल्लोक्रममा अंमर सिंह राउटेलाले १८ बलमा समान २ छक्का र चौका प्रहार गर्दै आक्रमक २७ रनमा अविजजित रहे । अभिनास बोहोरा ५ रनमा नट आउट रहे । पृथु बास्कोटा ५९ रनमा क्याच आउट भए । उनले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । २५ ओभरको चौथो बलमा नन्दन यादवको बलमा ठूलो शट खेल्ने धुनमा प्रदीप क्याच आउट हुन पुगे । शरद भेषवाकर १२,आशिफ शेख ७,शंकर राना १,सन्दीप जोरा ६ र भुवन कार्की १५ रनमा आउट भए ।

ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका शरदलाई कप्तान पारस खड्काले दोस्रो ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरीबाट क्याच गराउनु अघि उनले ९ बलमा २ चौका प्रहार गरे । प्रदेश ३ का नन्दन यादवले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । जितेन्द्र सिंह ठकुरीले ५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिदा पारस खड्का र सुर्य तामाङको नाममा समान १ विकेट रह्यो ।
हाम्रो खेलकुदको सहयोगमा