कुलमान घिसिङ हेटौंडामा, कुलेखानी तेस्रो छिटै चल्ने

गुगलपाटी संवाददाता हेटौंडा
१२ जेष्ठ २०७६ १२:२३

कुलमान घिसिङ आईतबार हेटौंडा आइपुगेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विच भेटवार्ता गरेका छन् । फिल्ड भिजिट गर्न हेटौंडा हुँदै भरतपुर जान लागेको कुलमानले मुख्यमन्त्री पौडेललाई भेटेका हुन् ।
मुख्यमन्त्री संगको भेटमा महत्वपुर्ण कुरा भएको बताइएको छ । घिसिङले मकवानपुरको कुलेखानी असार १५ सम्मबाट चल्ने जानकारी दिएका छन् । मकवानपुरको भीमफेदी गाउ“पालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्ष भित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनिया“ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि निर्माण सकिएको हो ।

निर्माणको काम सक्याएर आयोजनाले केहीदिनअघि मात्रै सुरुङ परीक्षण गरेको छ । कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर सफल परीक्षण गरिएकोे आयोजना प्रमुुख सुभाष मिश्रले जानकारी दिए । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोले अब आगामी असारसम्ममा नियमित विद्युत् उत्पादन सुरु गर्ने मिश्रको दावी छ ।

विद्युत गृहका टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरूको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन् । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनिया“ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ भएको हो । तीन पटकसम्म म्याद थप्दा पनि काम नभएपछि सन् २०१५ देखि उक्त कम्पनीको म्याद थपिएको छैन । सन् २०१४ सेप्टेम्बर, सन् २०१५ जुन र सन् २०१५ अक्टोबरमा उसको म्याद थप गरिएको थियो ।