जसले फोन किने, उनैले फोटो सार्वजनिक गरिदिएपछि…..
गुगलपाटी संवाददाता काठमाडौंभारतको उत्तर प्रदेशस्थित मेरठमा बस्ने शुभम कुमारले कहिले पनि सोचेका थिएनन् कि फोन बेच्ने बेला गरेको एउटा गल्ती उनको लागि कति भारी हुनेछ । फोनमा भएका केही आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि एक व्यक्तिको हत्या भएको छ भने अर्की एक महिलाले आत्महत्या गरेकी छिन् । शुभमलाई पनि प्रहरीले पक्राउ गरेको छ । यो पूरा घटनाक्रमका बीच एक बालकले आफ्नी आमा गुमाएका छन् ।
मुजफ्फरनगरको गंगानहर कैनालमा शनिबार ३५ वर्षकी एक महिला आफ्ना पाँच वर्षका छोरासँगै नदीमा हाम फालिन् । गोताखोरले बच्चालाई त बचाए तर महिलाको मृत्यु भइसकेको छ । पूर्व प्रेमीसँगको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि महिलाले आत्महत्या गरेको पुलिसको अनुसन्धानमा पत्ता लागेको छ ।
जसले फोन किने, उनैले सार्वजनिक गरिदिए फोटोः
वास्तवमा, महिलाका पूर्वप्रेमी शुभम कुमारले आफ्नो फोनमा भएका पुराना फोटो डिलिट नगरीकनै मेरठको अनुज प्रजापतिलाई बेचेका थिए । प्रजापतिले नै ती फोटो सोसल मिडियामा सेयर गरेका थिए ।
पुलिस अधिकारी हरिशरण शर्माले भने, ‘एक महिला आफ्ना ५ वर्षका छोरासँग अलकनन्दा पुलबाट गंगानहरमा हाम फालेको सूचना हामीले पायौं । उनले आत्महत्या गर्नुअघि श्रीमानलाई पनि फोन गरेकी थिइन् । यसैमार्फत् उनको पहिचान खुलेको थियो ।’
एक हत्या, एक आत्महत्याः
फोटो सार्वजनिक भएको थाहा पाएपछि मे २३ तारिखमा शुभमले साथीसँग मिलेर प्रजापतिको हत्या गरेका थिए । पुलिस अधिकारी आनन्द प्रकाशका अनुसार आफ्नो फोटो देखेर महिलाले शुभमसँग कुरा गरेकी थिइन् । रिसाएका शुभमले प्रजापतिको हत्या गरिदिए । सिसिटिभी फुटेज र घटनास्थलमा पाइएको मोबाइलको मद्दतले आरोपीको पहिचान भयो । पुलिसका अनुसार फोटो भाइरल हुनुका साथै प्रजापतिको हत्याको मामलामा आफू पनि मुछिएपछि महिलाले आत्महत्याको बाटो रोजेको हुनसक्छ ।