क्रिकेट विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडीहरु

गुगलपाटी संवाददाता एजेन्सी
१३ जेष्ठ २०७६ ०७:१३

विश्व क्रिकेटको प्रतिक्षित र सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी क्रिकेट विश्वकपको १२औँ संस्करण यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुँदैछ।

विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहँदा अहिले क्रिकेट खेलाडी देखि दर्शक र समर्थकको ध्यान त्यतैतिर पुगेको छ।

१२औँ संस्करणको विश्वकपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यस पटक सिंगल राउण्ड रोविनमा सहभागि सबै टोलीले एकआपसमा खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

विश्वकप सुरुहुनु अगाडि यसअघिका विश्वकप र त्यसमा खेलाडीले गरेको प्रदर्शनको समेत चर्चा हुने गर्छ।

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरु यस प्रकार छन्।

१. सचिन तेन्दुलकर, भारत (२,२७८ रन)

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले ६ वटा विश्वकप खेले। एक पटक उपाधि जिते। सन् १९९२ देखि सन् २०११ सम्म विश्वकप खेल्दा भारतीय खेलाडी सचिन सबैभन्दा धेरै रन बनाउनेमा समेत अगाडि रहेका छन्।

सचिनले विश्वकपमा सबैभन्दा धेरै ६ शतक समेत प्रहार गरेका छन्। ६ विश्वकपको ४५ खेलमा ४४ इनिङ्स ब्याटिङ गरेका सचिनले २ हजार २७८ रन बनाएका छन्। उनले दोस्रो स्थानको रिक्की पोन्टिङ भन्दा पाँच सय रन बढि बनाएका छन्।

उनले सन् १९९६ मा केन्या विरुद्ध पहिलो शतक प्रहार गरेका थिए। सचिनले १५ अर्धशतक समेत प्रहार गरेका छन्।

सचिनले ५६.९५ को एभरेज र ८८.९८ को स्ट्राइक रेटले २ हजार २७८ रन बनाएका छन्।

२. रिक्की पोन्टिङ, अस्ट्रेलिया  (१,७४३ रन)

विश्वकपमा धेरै रन बनाउनेमा दोस्रो स्थानमा रहेपनि अस्ट्रेलियाका रिक्की पोन्टिङ विश्वकपमा उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनले आफ्नै कप्तानीमा अस्ट्रेलियालाई दुई पटक विश्वकप जिताए।

सन् १९९६ देखि २०११ सम्म ५ विश्वकप खेलेका पोन्टिङले १. ७४३ रन बनाएका छन्। उनले विश्वकपको ४६ खेलमा ४२ इनिङ्समा ब्याटिङ गरेका थिए। पोन्टिङले ५ शतक र ६ अर्धशतक प्रहार गरेका छन्। उनले ४५.८६ को एभरेज र ७९.९५ को स्ट्राइक रेटले रन बनाएका छन्। सन् २००३ को विश्वकपमा भारत विरुद्ध बनाएको नटआउट १४० रन पोन्टिङको व्यक्तिगत उच्च स्कोर हो।

३. कुमार संगाकारा, श्रीलंका (१५३२ रन)

श्रीलंकाको उत्कृष्ट ब्याट्सम्मयान। विकेटपछाडि बसेर जादु देखाउन माहिर। तर एक पटक पनि विश्वकप जित्न नसकेका अभागि खेलाडी। यीनै श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान विश्वकपमा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा छन्।

सांगाकाराले सन् २००३ देखि २०१५ सम्म ४ वटा विश्वकप खेल्दा १ हजार ५३२ रन बनाए। उनले ३७ खेलको ३५ इनिङ्समा ब्याटिङ गर्दै ५ शतक र ७ अर्धशतक प्रहार गरेका छन्। उनले ५६.७४ को एभरेज र ८६.५५ को स्ट्राइक रेटमा रन बनाएका छन्।

४. ब्रायन लारा,  वेस्टइन्डिज (१,२२५ रन)

सचिन र वेस्ट इन्डिजका ब्रायन लाराले एकै पटक विश्वकप खेल्न सुरु गरेका हुन्। यी दुई समकालिन खेलाडी हुन्। तर लाराले विश्वकपको उपाधि भने जित्न सकेनन्। सन् १९९२ देखि २००७ सम्म ५ वटा विश्वकप खेल्दा लाराले १ हजार २२५ रन बनाए। उनले यस क्रममा २ शतक र ७ अर्धश प्रहार गरे। लाराले ३४ खेलको ३३ इनिङ्समा ब्याटिङ गरेका। उनले ४२.२४ को एभरेज र ८६.२६ को स्ट्राइक रेट रन बनाएका छन्।

५. एबी डी भिलिएर्स, दक्षिण अफ्रीका (१,२०७ रन)

मिस्टर ३६० डिग्रीको उपनामले परिचित दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे ऐलियर्सले ३ वटा मात्र विश्वकप खेलेका छन्। तर उनी सर्वाधिक रन बनाउने सूभीमा पाँचौ स्थानमा छन्।

सन् २००७ देखि २०१५ सम्म ३ वटा विश्वकप खेलेका भिलियर्सले १ हजार २०७ रन बनाएका छन्। उनले ४ शतक र ६ अर्धशतक प्रहार गरेका छन्।

भिलियर्सले २३ खेलको २२ इनिङ्समा ब्याटिङ गरे। उनले ६३.५२ को एभरेज र ११७.२९ को स्ट्राइक रेटमा रन बनाएका छन्।