हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो, कुलमान सहितको टोली निरीक्षणमा

गुगलपाटी संवाददाता काठमाडौं
१३ जेष्ठ २०७६ ११:२३

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ।

कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो ।

कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि प्राधिकरणले जफत गरेको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना लगाउने निर्णय गरेको छ।

प्राधिकरणले यस अघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) सँगको ठेक्का तोडेको थियो।प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजीलाई कालासूचीमा राख्ने निर्णय गरिसकेको छ।

ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व बैकका नेपाल कार्यालयका देशीय प्रवन्धक फारिस हढाढ जर्भोस सहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन्।

कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए। ‘साइटमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक पटक निर्देशन दियौँ, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, पत्रको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लघंन गर्यो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, त्यसैले ठेक्का तोडिएको हो’, घिसिङले भने। नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको उनले जानकारी दिए।

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८को जग हालिएको छ भने ११९ वटा टावर खडा गरिएको छ। १२ किलोमिटर मात्रै तार तानिएको छ।

आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। यो खण्डमा पर्ने २४६ टावरमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ। तार भने तानिएको छैन । निर्माण २०७६को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ।

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका आयोजना प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए। प्राधिकरणकातर्फबाट गर्नु पर्ने रुख कटान तथा निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले महत्वपूर्ण यस आयोजनाको कामलाई तिब्रता दिन श्रमिकको संख्या थप्न निर्देशन दिए।

नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ । स्रोत : सेतोपाटी