प्रम ओली :‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’

गुगलपाटी संवाददाता ललितपुर
१३ जेष्ठ २०७६ १२:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय भैरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’ प्रश्न राख्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । संविधान बमोजिम नै निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै उहाँले सोध्नुभयो, ‘अब के चाहियो ? ’ प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउनुभयो ।

विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने बताउनुभयो । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने ओलीले स्पष्ट पार्नुभयो । ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पत्रकारितामा कतिपय विसंगतिहरु देखिएको भन्दै सुधारको आवश्यकता औंल्याउनुभयो । ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सीमा नाघ्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने पनि बताउनुभयो । उहाँले मानवअधिकारलाई एउटा पक्षबाट मात्रै हेर्न नमिल्ने बताउँदै विभिन्न पक्षबाट हेर्नुपर्ने धारणा राख्नुभयो ।

ुतानाशाहीमा मानवअधिकारको चर्चै हुँदैनु

प्रधानमन्त्रीले मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताउनुभयो । ‘मानव अधिकारको चर्चा लोकतन्त्रमा नै हुन्छ, तानाशाहीमा मानवअधिकारको चर्चै हुँदैन,’ उहाँले भन्नुभयो ।

घरघरमा हुने महिला र बालबालिकाको मानवअधिकार उल्लंघनका घटना रोकिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले घरघरमा मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ ।