एउटा भिडियोको कारण ढल्यो अष्ट्रियाको सरकार
गुगलपाटी संवाददातारुसी महिलासँगको भिडियो लिक भएपछि विकसित घटनाक्रमले अष्ट्रियाको सरकार ढलेको छ ।
अष्ट्रियन फ्रीडम पार्टीका नेता र रुसी महिलाबीचको भिडियोले अष्ट्रियाको वतर्मान सरकार ढलेको छ । त्यसै भिडियोका कारण अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जबो बिदाइ भएको छ । अष्ट्रियन संसदको विशेष सत्रमा उनीविरुद्ध अविश्वासको प्रस्ताव पास भएको हो ।
उनले संसदमा विश्वासको मत जित्न सकेनन् । उनकै पूर्व सहयोगी फ्रीडम पार्टी तथा विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वासको प्रस्तावमा समर्थन गरेका थिए । अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग लोगरलाई अन्तरिम सरकार प्रमुखका रुपमा नियुक्त गरेका छन् ।
भिडियोबाट सुरु भएको विवाद
जर्मन मिडियामा सार्वजिनिक एक भिडियोबाट यो विवाद सुरु भएको थियो । सन् २०१७ मा स्पेनको इबिसा द्वीपमा गोप्य तरिकाले त्यो भिडियो खिचिएको थियो । त्यो भिडियो अष्ट्रियामा भएको चुनावभन्दा पहिलेकै थियो ।
जर्मन मिडियामा सार्वजनिक त्यस भिडियोमा फ्रीडम पार्टीका नेता तथा अष्ट्रिया सरकारमा भाइस चान्सलर रहेका हेनिज क्रिश्चियन स्टार्के आफ्नै नेता जोहान्ना गुडेनससँग कुरा गरिरहेका छन् । यस भिडियोमा दुई नेता एक रुसी महिलासँग बसेको देखिएको छ । ती महिला एक रुसी व्यापारीकी भतिजी भएको बुझिएको छ ।
त्यस भिडियोमा स्टार्केले ती महिलासँग अष्ट्रियाको चर्चित समाचारपत्र कोरेनन जिटुङमा ठूलो शेयर किनेर फ्रीडम पार्टीलाई सहयोग गर्न आग्रह गर्छन् । साथै त्यसको बदलामा आफूहरुले उनलाई सघाउने बताएका थिए ।
यो भिडियो कसले खिच्यो थाहा नभए पनि भिडियो सार्वजनिक भएसँगै स्टार्केलाई हटाउने निर्णय भयो । स्टार्केले आफ्नो पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि फ्रीडम पार्टीका अर्का मन्त्रीले पनि राजीनामा दिए । त्यसपछि नै कुर्ज नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
अष्ट्रियन पिपल्स पार्टीका प्रमुख सेबास्टियन कुर्ज सन् २०१७ मा ३१ वर्षको उमेरमै सरकार प्रमुख बनेका थिए । युद्धपछिको अष्ट्रियाको इतिहासमा अविश्वास प्रस्तावबाट सरकारबाट बाहिरिने कुर्ज पहिलो नेता हुन् ।
अष्ट्रियाको तल्लो सभा नेसनल काउन्सिलमा १८३ सांसद रहेका हुन्छन् भने संघीय काउन्सिलमा ६१ सदस्य रहेका हुन्छन् ।
कुर्जको अष्ट्रिया पिपल्स पार्टीसँग ६१ सिट रहेको छ । उनलाई सरकार बनाउन सहयोग गरेको दल फ्रीडम पार्टी अफ् अष्ट्रियासँग ५१ सिट रहेको छ । सरकार बनाउन ११२ सिट आवश्यक पर्नेमा फ्रीडम पार्टीले समर्थन फिर्ता लिएसँगै कुर्ज सरकार ढलेको हो । त्यस्तै सोसल डेमोक्रेटिक पार्टी अफ् अष्ट्रियासँग ५२ सिट रहेको छ ।