समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाता मकवानपुरफ्रेण्ड्स् हेटौँडा मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका प्रतिनिधि, राजनैतिक दल तथा सञ्चारकर्मीहरुबिच समलिङ्गी तेस्रोलिङ्गी समुदायको बारेमा समन्वय तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका भिम तिमल्सिना, यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघका उपाध्यक्ष भूमिका श्रेष्ठ, नेपाली काँग्रेसका नेता प्रदिप कोईराला, विभिन्न वडाका वडाअध्यक्ष, प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण फ्रेण्ड्स् हेटौँडा मकवानपुरका कार्यक्रम संयोजक सुरज थापा ‘किरण’ ले गरेका थिए । कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघका उपाध्यक्ष भूमिका श्रेष्ठले यौनिक तथा लैँगिक अल्पसंख्यकहरुको अधिकार संविधानले सुनिश्चित गरेता पनि व्यवहारमा लागु नभएको बताए । अहिले पनि मकवानपुर सहित देशका विभिन्न क्षेत्रमा संविधानमा व्यवस्था भए अनुरुप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले सजिलैसँग नागरिकता तथा पासपोर्ट नपाएको उनले गुनासो गरिन् । जिल्ला प्रशासनमा नागरिकता लिन गएकालाई संविधानमा आएता पनि ऐन नबनिसकेको भन्दै फर्काउने गरेको उनले बताईन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारका लागि वडास्तरबाटै कदम चालिनुपर्नेमा उनले जोड दिईन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे सचेतना कार्यक्रम देशका विभिन्न ४० वटा जिल्लामा सञ्चालन भईरहेको आयोजकले जनाएको छ ।