हचुवामा ल्याउने बजेटको कुनै अर्थ छैन – डा. लोहनी

गुगलपाटी संवाददाता काठमाडौं
१५ जेष्ठ २०७६ ०५:५५

राप्रपा संयुक्तका अध्यक्ष एवं अर्थविद् डा प्रकाशचन्द्र लोहनीले केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवामा ल्याउने बजेटको कुनै अर्थ नभएको बताएका छन् ।

उनले आफ्नो भनाइलाई स्पष्ट पार्दै भनेका छन्, ‘एक वर्षमा भएका त्रुटि र विकृतिहरुलाई अध्ययन गरेर बजेट नल्याएसम्म हचुवामा ल्याउने बजेटको कुनै अर्थ छैन ।’

उनले प्रधानमन्त्री ओलीले बजेट आउनु अगाडि नै बजेटको घोषणा गरेकाले यसले पार्ने असरसमेत ख्याल नगर्ने सरकारबाट कुनै कुराको अपेक्षा गर्न छाडेको पनि बताएका छन् ।

ओली सरकारले बोलीले विकासका काम गरे पनि व्यवहारमा भने केही पनि काम हुन नसकेकोप्रति अध्यक्ष लोहनीले भने, ‘मुखले बोलेर विकास नहुने हैन ।’

उनले यो सरकारलाई जनताले आवाज नदिएसम्म राज्यका लक्ष्मण रेखाहरु अझ बढी तोडिदै जाने ठोकुवा गरेका छन् । यसले विकास हैन विनासको बाटोमा लैजाँदै गरेको भन्दै अध्यक्ष लोहनीले दुःख व्यक्त गरेका छन् ।

पहिलो पटक सरकारले पूर्व अर्थमन्त्रीहरुसंग बजेटका बारेमा परामर्शसमेत गरेन । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार अपरान्ह संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दैछन् ।