चार वर्षपछि तातोपानी नाका खुल्यो

गुगलपाटी संवाददाता सिन्धुपाल्चोक
१५ जेष्ठ २०७६ ०६:४२

भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि खुलेको छ। मंगलबार खासा गएको चार वटा कन्टेरनलाई सीमा पार गराएर तातोपानी नाका सञ्चालनमा ल्याएको घोषण गरिएको छ।

उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव तथा चीनको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री झाङ जिवेन र चिनियाँ राजदूत हाउ याङ जिले बुधबार संयुक्त रुपमा नाका सञ्चालनको घोषणा गरेका हुन्।

नाकाबाट चार वटा कन्टेनरले ऊन बोकेर तिब्बतको खासाबाट नेपाल प्रवेश गराएर कारोबार सुरु गरिएको छ। मितेरी पुलमा रिबन काटेर बन्द नाका खुलेको घोषणासँगै मालबाहक कन्टेनर नेपाल ल्याइएको छ। नेपालबाट भने उद्योगमन्त्री यादव, सांसदद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, मन्त्रालयका सचिव, भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलगायतको उपस्थितिमा नाका सञ्चालनमा ल्याइएको हो। तातोपानी नाका २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेको थियो।