नेपाली फुटबल टोली मलेशिया प्रस्थान गर्दै

गुगलपाटी संवाददाता ललितपुर
१५ जेष्ठ २०७६ ०७:१४

 दुईवटा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि बिहीबार नेपाली टोली मलेसियातर्फ प्रस्थान गर्दैछ । मलेसिया र चाइनिज ताइपेइसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि टोली बिहीबार मलेसियातर्फ जान लागेको हो । विश्वकप फुटबल २०२२ को छनौटको अभ्यास खेलका रुपमा यी दुई मैत्रीपूर्ण खेललाई लिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले टोलीको विदाई बिहीबार दिउँसो गर्दैछ ।

नेपाली टोली मलेसियासँगको मैत्रीपूर्ण फुटबल खेलेसँगै उतैबाट चाइनिज ताइपेईतर्फ प्रस्थान गर्ने नेपाली टोलीका ब्यवस्थापक कृष्णभक्त मानन्धरले जानकारी दिए । उनका अनुसार नेपालले मलेसियासँग जेठ १९ मा र चाइनिज ताइपेईसँग जेठ २३ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । मलेसियासँगको खेलपछि जेठ २१ गते टोली ताइपेई पुग्ने र २३ गते मैत्रीपूर्ण खेल खेल्ने उनले बताए । नेपाली टोली मैत्रीपूर्ण खेल सक्काएर आउने जेठ २५ गते स्वदेश फर्कनेछ ।

दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि केही दिन अघि नै मुख्य प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिसकेका छन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अभ्यास गरेको छ । ‘मलेसिया र चाइनिज ताइपेईसँगको खेल हाम्रा लागि खेलस्तर बढाउने सुनौलो अवसर हो । हामी भरमग्दुर राम्रो र प्रतिस्पर्धात्मक खेल खेल्ने प्रयासमा छौं,’ मुखय प्रशिक्षक कालिनले भने, ‘मलेसिया हाम्रै लेभलमा छ, ताइपेइ हामी भन्दा अलि माथी छ, तैपनी हामी राम्रो खेल्छौँ । उनका अनुसार केही नयाँ खेलाडीले अभ्यासमा उत्कृष्ट प्रदर्शन गरेका छन्, आशा छ उनीहरूले खेलमा आफूलाई प्रमाणित गर्नेछन् । सहायक प्रशिक्षक किरण श्रेष्ठले आफूहरुले हारजित भन्दा पनि राम्रो फुटबल खेल्ने अभ्यासका लागी मैत्रीपूर्ण फुटबल खेल्न लागेको बताए ।

नेपाली टोलीः किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु, विराज महर्जन (कप्तान), सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल, सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविषेक रिजाल र अञ्जन विष्ट ।

मलेसियासँगको यसअघिको १ अप्रिल २०१८ मा एक मैत्रीपुर्ण खेल रद्ध भएको थियो। रद्ध भएको खेललाई निरन्तरता दिन मलेसिया फुटबल एशोसिएसनले एन्फालाई अनुरोध गरेको थियो। सोही अनुरुप मलेसियासँगको खेल तय भएको हो। सन २०२३ को एएफसी एसियन कपको छनोटको तयारीको रुपमा समेत यसलाई लिइएको छ। कालिनले नेपाली टिम सम्हाले यता नेपालले कुवेतसँग मैत्रीपूर्ण खेल खेलीसकेको छ । दुइ खेलमा एक बराबर र एक हार भएको छ ।

विश्वकप फुटबल २०२२ को छनौटका लागि एएफसीको १ देखी ३४ औँ वरियतामा रहेका देशले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् भने ३५ औँ देखी ४६ औँ एएफसी वरियताका देशले पहिलो चरणमा नै प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरण पार गर्ने देशले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने एएफसीले जनाएको छ । नेपाल र चाइनिज ताइपेई एशियाली वरियताको शिर्ष ३५ भित्र रहेकाले विश्वकप छनौटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् भने मलेसियाले पहिलो चरणमा नै प्रतिस्पर्धा गर्नेछ । मलेसिया फिफा वरियतामा १ सय ६८ औँ स्थानमा छ भने एशियाली वरियतामा ३५ औँ स्थानमा छ । चाइनिज ताइपेई विश्व वरियतामा १ सय २५ औँ तथा एशियाली वरियतामा २४ औँ स्थानमा छ । फिफा वरियतामा १ सय ६१ औँ स्थानमा रहेको नेपाल एएफसी वरियतामा ३४ औँ स्थानमा छ ।