जनयुद्वका १२ घाइते हिरासतमा !
गुगलपाटी संवाददाता काठमाडौँसरकारले गणतन्त्र दिवस मनाइरहेका बेला गणतन्त्र प्राप्तिका लागि लडेका घाइते तथा अपाङगहरु भने प्रहरी हिरासतमा कष्टकर जीवन विताइरहेका छन्, त्यो पनि गृहमन्त्रालयकै आदेशमा ।
हिरासतमा रहनेहरुमा जनयुद्धका घाइते युवराज विक, मानबहादुर सहकारी, ज्ञानबहादुर रोकाय, प्रेम अधिकारी, निराजन कार्की, बुद्धिमान घर्ती, धर्मानन्द न्यौपाने, इन्द्रा तामाङ शोभा घिमिरे, बीरबहादुर परियार र जयराम चौधरीलगायत छन् ।
के थियो घटना ?
गत १२ गते आइतबार गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको कार्यकक्षमा घाइते अपाङ्ग सरोकार संघर्ष समितिका सदस्यहरुसँग कार्यदलको बैठक बसिरहेको थियो । कार्यदलकी संयोजक समेत रहेकी सहसचिव घिमिरेले उक्त बैठकमा कार्यदलसँग सहमति भएको प्रतिवेदन नभई पूरानो प्रतिवेदन पेश गरेकी थिइन् ।
सहसचिव घिमिरेले कार्यदलका सदस्यहरुसँगको राय सुझावमा नभई एकलौटी प्रतिवेदन पेश गरेको भन्दै घाइते अपाङ्ग सरोकार संघर्ष समितिका संयोजक युवराज विकसहित कार्यदलका अन्य २ सदस्य असहमति जनाउँदै बाहिर निस्किएका थिए । बाहिर निस्किनासाथ गृहको हाताबाटै उनीलगायत १२ जना गिरफ्तारीमा परेका थिए । मन्त्रालयको कामकाजमा अवरोध पुर्याएको भन्दै १२ जना गृहमन्त्रालयको परिसरबाटै पक्राउ परेको संयोजक विकले रातोपाटीसँग भने ।
‘प्रतिवेदनमा हातखुट्टा र आँखा नदेख्ने (कृत्रिम)लाई जीवन निर्वाह भत्ता दिने निर्णय थियो । हामीले त्यसलाई अस्वीकार गरेको हौं,’ विकले भने, ‘जनयुद्वमा होमिने सबै घाइतेलाई राज्यबाट पाउनुपर्ने सुविधा दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ हाल उनीहरुलाई अनामनगर वृत्तबाट महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
१० दिनको म्याद थप गरी उनीहरुविरुद्व सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ । देशमा हाम्रै गृहमन्त्री हुँदा पनि हामी टेकुको हिरासतमा बस्नु दुःखद खबर रहेको संयोजक विकको भनाई छ । गणतन्त्र स्थापनाका लागि लडेका सयौ सहिद र घाइतेहरुको परिवारलाई राज्यले सम्झिनुको साटो पक्राउ गरेकोमा उनले आक्रोश पोखे ।स्रोत : रातोपाटी