आईसीसी क्रिकेट विश्वकप २०१९ को भव्य उद्घाटन

गुगलपाटी संवाददाता एजेन्सी
१५ जेष्ठ २०७६ १०:१८

आज अर्थात् बुधवार आईसीसी क्रिकेट विश्वकप २०१९ को भव्य उद्घाटन हुँदैछ । इंग्ल्याण्डको वेल्समा आयोजना हुन लागेको क्रिकेकटको यस महाकुम्भमा शीर्ष १० राष्ट्रले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन लंडनको ‘द मल’मा हुनेछ ।

पहिलो खेल भोलि मे ३० मा इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । बताइएअनुसार उद्घाटन समारोहमा लगभग ४ हजार फ्यानहरू उपस्थित हुनेछन् । समारोहमा इंग्ल्याण्डका राजपरिवारका सदस्यहरूको पनि उपस्थिति रहने बताइएको छ ।

कुनै पनि खेलकुद प्रतियोगिताको शुरूआत ‘ओपनिङ सेरेमनी’सँगै गरिन्छ । सन् २०१९ को क्रिकेट विश्वकपको उद्घाटन समारोह क्रिकेट, संगीत र मनोरञ्जन मिश्रित हुनेछ । 

ओपनिङ सेरेमनी नेपाली समयअनुसार राति पौने १० बजेबाट शुरू हुनेछ र करीब एक घण्टा चल्नेछ । यसको प्रसारण स्टार स्पोर्ट्सका विभिन्न च्यानलहरूमा हुनेछ ।

विश्वकपको तयारीस्वरूप उद्घाटन समारोह तथा खेल हुने स्थानमा उल्लेख्य मात्रामा झण्डा राखिएको छ भने शहर सजाइएको छ ।