सुनकाण्डःएसपी खनाल बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता
गुगलपाटी संवाददाता मकवानपुर,१३ बैशाखसाढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्याइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ ।
पक्राउ गरेका प्रहरी अधिकारीहरु मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ पेश गरेको हो ।
तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले स्रोतले जनाएको छ ।
साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।
यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।
गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।
सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।
घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् ।