रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा
गुगलपाटी संवाददाता एजेन्सीयुईएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । स्वीट्जरल्याण्ड विरुद्धको उक्त खेल ३–१ गोल अन्तरले जित्दै पोर्चुगल फाइनलमा प्रवेश गरेका छ ।
बुधबार राति पोर्टोमा भएको उक्त खेलको २५ औं मिनेटमा फ्रि किकमा गोल गर्दै रोनाल्डोले आफ्नो टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफका बाँकि समयमा कुनै गोल नभएपनि दोश्रो हाफमा स्वीट्जरल्याण्डले गोल फर्काउँदै स्कोर बराबर पारेको थियो । खेलको ५७ औं मिनेटमा पोर्चुगलका नेल्सन सेमेडोले स्वीजरल्याण्डका स्टेभन जुवेरलाई डि बक्स एरियामा लडाएका थिए । उक्त घटनालाई भिडियो असिस्टेन्ट रेफ्रिको सहायताले रिप्ले गरि हेरेपछि रेफ्रीले स्वीट्जरल्याण्डलाई पेनाल्टी दिएको थियो ।
उक्त अवसरलाई रिकार्डो रोड्रिगेजले गोल बनाएपछि गोल बराबर भएको थियो । खेल सकिन बाँकि हुँदा रोनाल्डोले आफ्नो कौशल प्रदर्शन गर्दै २ मिनेटको अन्तरमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । खेलको ८८ औं र ९० औं मिनेटमा उनले गोल गरेपछि पोर्चुगलले स्वीट्जरल्याण्डलाई ३–१ को स्पष्ट अन्तरले हराउन सफल भएको थियो ।
अब पोर्चुगलले नेदरल्याण्ड्स र इंग्ल्याण्ड बिच हुने दोश्रो सेमिफाइनलको बिजेतासँग आगामी जुन ९ मा उपाधिको लागि खेल्नेछ ।