चैते धान नष्ट गर्ने तयारीमा कृषक
गुगलपाटी संवाददाता चितवनचितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ मा चैते धानमा मरुवा (नेक ब्लाष्ट) रोगको प्रकोप बढेपछि किसानले झुल्न लागेको धाननै नष्ट गर्ने तयारी गरेका छन् । विभिन्न औषधि, विषादीको प्रयोग गर्दा समेत रोग नियन्त्रण नभएपछि कृषकले बाध्य भएर धान नष्ट गर्न थालेका हुन् ।
बिशेषगरी हर्दिनाथ–१ धानमा देखिएको यो रोगको प्रकोप फैलिएपछि अधिकांश किसानले जोतेर नष्ट गर्न लागेको बताएका छन् । अन्य स्थानमा पनि रोगको प्रकोप बढ्ने देखिए पछि धाननै नष्ट गर्न शुरु गरिएको किसानको भनाई छ । खैरहनी नगरपालिका वडा नम्बर ६ का किसान धर्मराज कंडेल आफूले लगाएको १० कट्ठाको धान रोगले सबै सखाप पारेको बताउंँछन् ।
उनले भने, ‘रोगले सबै धान सखाप पार्यो, यसलाई न नियन्त्रण गर्न सकियो, नत नष्ट गर्न नै सजिलो ।’ उनका अनुसार जोतेर नष्ट गर्दा जोत्न नमिलेको र आगो लगाउन खोज्दासमेत नजलेको कारण झन समस्या भएको छ । अधिकांश किसानले रोगको नियन्त्रणका लागि गरेको प्रयास असफल भएपछि अर्को बाली लगाउन झुल्ने अवस्थामा रहेको धान नष्ट गर्ने तरखर गरेका हुन् ।
जेठको पहिलो सातामा करीब ४०० विघामा प्रकोप फैलिएपनि हाल ९०० विघामा रोग फैलिएको किसानको अनुमान छ । स्थानीय निकाय, कृषि ज्ञानकेन्द्रबाट रोग नियन्त्रणको बारेमा पटक–पटक प्रयास तथा छलफल भएपनि नियन्त्रण गर्न सकिएको छैन । कृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठ यो रोग अघिल्ला बर्षहरुमा पनि देखिदै आएको र यसबर्ष झन बढीमात्रामा देखिएको बताउंँछन् । ‘रोगको प्रकोप पहिल्यै देखि देखिएको हो, यसबर्ष बढीमात्रमा फैलिएको छ’, उनले भने ।
किसानलाई चैते धानको पटक–पटक बीमा गर्न आग्रह गरेपनि कसैले बीमा गर्न नमान्दा नोक्सानी व्यहोर्नु परेको उनको भनाई छ । ‘चैते धानको लागि उत्पादन मुल्यमा सरकार ७५ प्रतिशत प्रिमियम दिन्छ, तर किसानले मानेनन्’,उनले भने । ‘यो नेक ब्लाष्ट रोग हो, यसले धानको बोटको घाँटीनिर सुकाइदिन्छ, त्यसपछि केही उपाय हुँदैन’,उनले भने । खैरहनी नगरपालिकाका प्रमुख प्रभा बराल कृषि ज्ञान केन्द्र र नगरपालिका बीच तथ्यांक लिने, रोगको रोकथामका लागि औषधि वितरण र छलफलसमेत भएको बताउंँछिन् ।
कृषकलाई यो जातको धान नलगाउन अनुरोध गर्दा किसानले नमानेको उनको भनाई छ । राहतको लागि नगरपालिकाबाट केही व्यवस्थापन गर्न नसकिएपनि प्रदेशको कृषि मन्त्रालयमा राहत बारे छलफल भइरहेको प्रमुख बरालले जानकारी दिइन् । चैते धानको पकड क्षेत्रको रुपमा पूर्वी चितवनको राप्ती नगरपालिका, खैरहनी नगरपालिका पर्दछन् । खैरहनी नगरपालिकाको सो क्षेत्रमा मात्रै १ हजार २०० विघामा यो जातको धान लगाइएकोमा ९० प्रतिशत भन्दा बढी नोक्सान भएको अनुमान छ ।