ज्यान मार्ने उद्योग गरेको आरोपमा तरुण दलका नेता राधे पक्राउ

गुगलपाटी संवाददाता धादिङ
२३ जेष्ठ २०७६ ११:०९

स्थानीय युवालाई आक्रमण गर्न लगाएको आरोपमा जिल्ला प्रहरीले कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला उपाध्यक्ष राधेकृष्ण भण्डारीलाई पक्राउ गरेको छ । ताल्तीतर्फ जाने बाटोमा स्थानीयवासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गर्न खोजेपछि चक्कुसहित बिहीबार पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राधेसँगै क्रसर व्यवसायी सहयोगी काजी शाक्य, समीर थापा पनि पक्राउ परेका छन् । उपाध्यक्ष राधेले प्रहरी गाडीमा समेत क्षति पुर्‍याएका छन् ।

दुई वर्षअघि धादिङबेंसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा ‘चरी’लाई ज्यान मार्ने

उद्देश्य गोली प्रहार गरेका राधे देशव्यापी रुपमा चर्चामा थिए । यो घटनामा राधे पक्राउ परे पनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले राधेलाई खोजी सूचीमा राखेको थियो ।

भण्डारी विगत ५ वर्षदेखि राजनीति र गिट्टी बालुवा, क्रसर व्यवसायमा संलग्न थिए । उपाध्यक्ष भण्डारीलाई व्यावसायिक प्रतिस्पर्धाकै कारण प्रदेश नं ३ का आन्तरिक मामलामन्त्री शालिकराम जमरकटेलको निर्देशनमा पूर्वाग्रही ढंगले प्रहरीले पक्राउ गरेको भन्दै तरुण दल धादिङले विज्ञप्ति निकालेर विरोध जनाएको छ । आफ्ना उपाध्यक्षलाई प्रहरीले जबर्जस्ती ज्यान मार्ने उद्योगमा पक्राउ गरेको आरोप लगाइएको छ ।