कलाकार गौतमलाई प्रकाउ गर्न नेपाल प्रहरीले गुहार्यो क्यानेडियनलाई

गुगलपाटी संवाददाता काठमाडौं
२४ जेष्ठ २०७६ ०९:१२

मानव तस्करी र ठगी आरोप लागेका कलाकार सुदर्शन गौतमलाई प्रकाउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरी गुहारेको छ।

गत महिना अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले उनलाई प्रक्राउ गर्न रेड कर्नर नोटिस जारी गरेको थियो। तर, उनी हालसम्म पक्राउ पर्न सकेका छैनन्। त्यसैले प्रहरीले पत्राचार नै गरेर सहयोगका लागि क्यानेडियन प्रहरीसमक्ष अपिल गरेको हो।

विगत १० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका सुदर्शनले नेपालबाट थुप्रै युवा– युवतीलाई अवैद्य बाटोबाट अमेरिका पुर्याउँदै आएका थिए। सो क्रममा कतिको मृत्यु भएको थियो भने कति अलपत्र छन्।

सुदर्शनको पुख्र्यौली घर भने रामेछाप हो। उनले नेपाली फिल्म ‘हिम्मतवाली’मा नायिका रेखा थापासँग अभिनय गरेका थिए।

गौतमको गिरोहले दुई वर्षअघि तीन युवतीलाई अमेरिका लैजानै भन्दै हाइटी पुर्याएको थियो। त्यहाँबाट सामुद्रिक यात्राको क्रममा सुमित्रा कुँवर कटुवालको मृत्यु भएपछि घटना सार्वजनिक भएको थियो। फर्किएका दुई युवतीले घटनाबारे प्रहरीमा जाहेरी दिएका थिए। यसअघि प्रहरीले सो प्रकरणमा संलग्न बाग्लुङका सागर श्रीशसहित ४ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइसकेको छ।

गौतम टोरन्टो बसोबास गर्छन्। त्यहाँ उनको रेष्टुराँसहितको व्यापार रहेको छ। उनी क्यानेडियन नागरिक भइसकेकाले पक्राउपछि नेपाल ल्याउने सम्भावना भने कम छ।