हेटौंडामा पत्रकारको मानव साङ्लो प्रर्दशन

गुगलपाटी संवाददाता हेटौंडा
२५ जेष्ठ २०७६ ०६:११

मिडिया काउन्सिल विधेयक सहित सञ्चार विरोधी ऐन कानूनहरुको विरोधमा हेटौंडामा शनिबार बिहान पत्रकारहरुले विरोध प्रर्दशन गरेका छन् ।

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको आयोजनामा हेटौंडाको बुद्ध चोकमा मानवसाङ्लो प्रर्दशन गरी उनीहरुले विरोध गरेका हुन् ।

मानवसाङ्लो प्रर्दशनमा सहभागि पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड बाकेका थिए । विरोध प्रर्दशनपछि बोल्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले मिडिया बिरोधी ऐन कानूनहरु नसच्चिएसम्म संघर्ष जारी रहने बताए । ‘हामी सत्ताको भजन गाउँदैनौ, समाचार लेख्छौं’, उनले भने, ‘समाचार लेखेर खान समेत नपाउने अवस्था आउनु दुखद कुरा हो ।’ प्रर्दशनीमा हेटौंडाका पत्रकारहरुको सहभागिता रहेको थियो ।