कोलम्बियासँगको सीमा खोल्नेबित्तिकै भेनेजुयला छोड्नेको संख्या बढ्यो

गुगलपाटी संवाददाता एजेन्सी
२६ जेष्ठ २०७६ ११:१५

भेनेजुयला सरकारले चार महिनाअघि बन्द गरेको कोलम्बियाको सिमानामा खोलेपछि भेनेजुयला छोड्न चाहनेहरू सामलतामल बोकेर निस्किन थालेका छन्।

कोलम्बियाको विदेश मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार शनिबार सीमाना खुला भएलगत्तै ३० हजारभन्दा धेरै मानिस कोलम्बिया पुगिसकेका छन्।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार पछिल्लो चार वर्षमा करिब ४० लाख नागरिक भेनेजुयलाबाट विस्थापित भइसकेका छन्।

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको आग्रहमा गत फेब्रुअरीमा कोलम्बिया, ब्राजिलसँगको सीमा बन्द गरिएको थियो।

कोलम्बियासँगको सीमा खोल्ने घोषणा गर्दै मडुरोले वासिङ्टन डिसीले आफूहरूसँग आर्थिक युद्ध छेडेका कारण भेनेजुयला गम्भीर आर्थिक संकटमा परेको बताएका छन्।

यसअघि उनले विपक्षी नेता हुवान गुवाइदोले अमेरिकाबाट मानवीय सहायता ल्याउने प्रपन्च रचेको भन्दै त्यसबाट मुलुकलाई बचाउन सीमा बन्द गरिएको बताउँदै आएका थिए।

आधारभुत मानवीय आवश्यकतासमेत पूरा नभएपछि भेनेजुयलाका नागरिक वर्षौंदेखि संघर्षपूर्ण जीवन बाँच्दै आएका छन्।

सामान्य दैनिक आवश्यकताका लागि समेत सीमामा रहेका कोलम्बियामा भर पर्दै आएका सीमा क्षेत्रका नागरिकले कष्टकर दैनिकी बिताइरहेका थिए।

पछिल्लो चार महिनामा कतिपय भेनेजुयलनहरूले  आपराधिक व्यक्ति तथा संगठनलाई पैसा बुझाएरसमेत कोलम्बिया गएको बीबीसीले जनाएको छ। मडुरोको सरकारलाई चीन र रसियाको समर्थन छ भने अमेरिका र ल्याटिन अमेरिकाका मुलुकले गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्।

भेनेजुयलाका विषयमा शक्ति राष्ट्र भिड्न थालेपछि त्यहाँको राजनीतिक र आर्थिक संकट झन गहिरिदै गएको छ।