हज कमिटीका पदाधिकारीकै मिलोमतोमा भ्रष्टाचार, १० जना विरुद्ध मुद्दा

गुगलपाटी संवाददाता काठमाडौं
२९ जेष्ठ २०७६ १२:५१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ सालमा हज गर्न जाँदा हज कमिटीका पदाधिकारीकै मिलोमतोमा भ्रष्टाचार भएको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले बुधबार हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित दश जनाले ३८ लाख रुपैयाँ घोटाल गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्यितारले छानिबिनका क्रममा साउदी अरबमा हज गर्न जाने यात्रीका लागि आउनजान लागि हवाई टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले २०७४ जेठ ११ गते आह्वान गरेको शिलबन्दी बोलपत्र स्वीकार गर्दा सार्वजनिक खरिद नियमावली विपरीत दोस्रो कबुल गर्ने कम्पनीलाई ठेक्का दिएको पाइएको अभियोग पत्रमा उल्लेख गरेको छ ।

बोलपत्रमा क्रमशः ८८,९९५, ९०,००० र ९५,३०० उल्लेख भए पनि दोश्रो कम अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेको थियो ।

उक्त निर्णय गर्दा उपसमितिका संयोजक शोऐबसहित हज सचिवालयका सदस्यको समेत संलग्नता रहेको आयोगको दाबी छ । बोलपत्र दर्ता गर्दा हिना ट्राभल्स एण्ड टुर्सले बुझाएको ३८ लाख धरौटी रकम मिलोमतोमा हिनालाई नै फिर्ता गरेको निष्कर्ष आयोगले निकालेको छ ।

आयोगले उपसमिति संयोजक शोऐब, अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरद्ध मुद्दा दायर गरेको हो ।