राजधानी हेटौंडा नहुने सम्भावना वढ्यो, राजधानी खोज्न समिति गठन

गुगलपाटी संवाददाता
१४ बैशाख २०७५ १४:५३

मकवानपुरको हेटौंडामा हाल तीन नम्बर प्रदेशको अस्थायी मुकाम रहेपनि स्थायी मुकाम भने नहुने सम्भावना बढेर गएको छ । शुक्रवार वसेको प्रदेश सभा बैठकले प्रदेश ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गरिएसंगै सम्भावना बढेर गएको हो ।
जोखिम पूर्ण राजमार्ग,साना तथा मझौला विमान उडान तथा उवतरणका लागि विमान स्थल नहुनु तथा साना तथा साँधुरा सडक,काठमान्डौं केन्द्रित प्रदेश सभा सदस्यहरुको मानसिकता र दलका ठुला नेताहरुको असपष्ट अडान कारण स्थायी मुकाम भने हेटौडा नहुने सम्भावना बढेर गएको जानकारहरु वताउछन् ।
शुक्रवार बसेको प्रदेश सभा बैठकले १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा एमालेबाट पाँच जना, कांग्रेस र माओवादीबाट दुई/दुई जना, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेमकिपा, साझा विवेकशीलबाट एक/एक जना रहेका छन् ।
एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर, प्रदीप कुमार कटुवाल क्षेत्री सदस्य रहेका छन् । माओवादीबाट विशाल खड्का र जगत शिंखडा, कांग्रेसबाट छिरिङ दोर्जे लामा र प्रभात तामाङ रहेका छन् ।
यसरी विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दराज गोसाई, राप्रपाबाट रिता माझी, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ सदस्य रहेका छन् ।
प्रदेश संसदको १९ औं बैठकबाट गठन गरेको यो समितिले राजधानीका लागि सम्भाबित ठाउँको अध्ययन गर्नेछ । समितिलाई अध्ययनका लागि एक महिना समय दिइएको छ ।
प्रदेश तिन को राजधानीका लागि हालसम्म काभ्रे,नुवाकोट र भक्तपुरका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो जिल्लामा लैजाने माग दावी गर्दै प्रस्ताब सभामुख समक्ष यस अघिनै दर्ता गराएका थिए । प्रदेशको राजधानीको बिषयमा संसदमा हालसम्म बहस नभएपनि अब यो बिषय पनि प्रवेश पाउने भएको हो । प्रदेश सभाको पहिलो बैठक बसेको ६ महिना भित्र स्थायी राजधानीका लागि संसद बैठकले निर्णय गर्नुपर्ने कानुनी बाध्यता रहेको छ ।