कछुवा गतिमा पुनर्निर्माण, प्राधिकरण भन्छ : तिब्रता लिएको छ

गुगलपाटी संवाददाता हेटौंडा, १४ वैशाख
१४ बैशाख २०७५ १४:५१

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको तथ्याङ्कले पुर्ननिर्माण कछुवा गतिमा अघि बढिरहेको देखाएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार भूकम्प गएको तीन वर्षमा ३० प्रतिशत मात्र पुर्ननिर्माण सम्पन्न भएको पाइएको हो ।
तर प्राधिकरणले भने देशमा सम्पन्न तीन तहको निर्वाचन पश्चात् पुनर्निर्माणको कार्यले तीब्रता लिएको दाबी गरेको छ । शुक्रबार हेटौंडामा भूकम्पपछिको पुनर्निर्माणमा प्रदेश नम्बर तीनको अवस्थाबारे भएको अन्तक्र्रियामा बोल्दै पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले पछिल्लो समय पुनर्निर्माण सन्तोषजन रुपमा अघि बढिरहेको बताए । ‘स्थानीय तहको निर्वाचनसँगै पुनर्निर्माणले गतिलिए पनि तीनै तहको निर्वाचन सकिएपछि त्यसको परिणाम देखा पर्न थालेको छ’,उनले भने ।
पुनर्निर्माण लाभग्राही सातलाख ६७ हजार सातसय पाँच रहेका छन् । जसमध्ये करिब ६ लाख ६७ हजार छसय ६२ जना अतिप्रभावित र एकलाख ४३ जना प्रभावित रहेको प्राधिकरणको तथ्याङ्क छ । तीमध्ये तीन नम्बर प्रदेशमा ७७ प्रतिशत भूकम्प प्रभावित रहेका छन् ।
अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेललले भुकम्पबाट ध्वस्त भएको संरचना निर्माणमा ढिलाई भएको चिन्ता ब्यक्त गरे । छलफलमा सहभागी तीन नम्बर प्रदेशका मुख्य मन्त्री,मन्त्रीहरु, प्रतिपक्ष दलका नेता तथा सांसद्हरुले पुर्ननिर्माणमा भएको ढिलाईप्रति असन्तुष्टि ब्यक्त गरेका थिए ।